
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौं जनसभा गर्ने भएको छ ।
सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले जनाएको छ । काठमाडौंमा ट्राफिक जाम नहोस् भनेर यो स्थान छानिएको बताइएको छ ।
सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ ।
कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
यसैबीच प्रचण्ड-नेपाल समूहले भने ओलीले हिन्दुराष्ट्र फर्काउन खोजेको आरोप लगाएको छ ।
सो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले केही दिनअघि प्रधानमन्त्री केपी ओली नेपाललाई हिन्दु राष्ट्र बनाउने कोशिषमा लागेको आरोप लगाएका थिए । ओली यो आरोपबारे माैन रहेका छन् ।
आजै ओली समूहका युवाहरुले राजधानीमा जुलुस निकालेका छन् । नेता महेश बस्नेको नेतृत्वमा निकालिएको जुलुसमा ओलीको पक्षमा चर्को नाराबाजी भएको थियो । प्रचण्ड-नेपाल पक्षको आमहड्तालका बीच प्रदर्शनीमार्गबाट निकालिएको जुलुस भोलिको कार्यक्रम स्थलसम्म निकालिएको थियो ।