२१ जेठ २०८३, बिहीबार

मानवअधिकार अभियानले गर्‍यो आन्दोलनकारीमाथि भएको धरपकडको विरोध

मानवअधिकार अभियानले गर्‍यो आन्दोलनकारीमाथि भएको धरपकडको विरोध

मानवअधिकार तथा सामाजिक अभियान नेपालले नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको आम हड्तालका क्रममा सरकारी पक्षबाट भएको धरपकडको विरोध गरेको छ । अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत नेता तथा कार्यकर्ताहरु चोकचोकमा शान्तिपूर्ण रुपमा नारा जुलुस गरी बसेको अवस्थामा सरकारले धरपकड गरी झडपको अवस्था सिर्जना गरेको पाइएको भन्दै  ध्यानाकर्षण भएको जनाएको हो ।

‘नेपालको संविधानले सभा जुलुस गर्न र शान्तिपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर शान्तिपूर्ण जुलुसलाई सरकारले गिरफ्तार गरी अवस्थालाई उत्तेजित बनाएर मुडभेडको स्थिति सिर्जना हुनुले संविधानले प्रदान गरेको हकको उल्लघंन भएको अभियानको ठहर छ’ अभियानका सहसंयोजक हुकुम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 

संविधानमा नभएको धारा प्रयोग गर्दै वर्तमान सरकारले एकपछि अर्को गर्दै संविधान विरुद्धका निर्णयहरु गर्दै जाँदा देश झनै गम्भिर र मुडभेड तर्फ जाने स्थिति देखिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यसबाट देशमा द्वन्द्वको स्थिति सिर्जना हुने देखिएको भन्दै  यस्तो स्थितिमा देशलाई जान नदिन सरकार गम्भिर बन्नुपर्नेमा जोड दिइएको छ ।

संविधानको रक्षा गर्दैै प्राप्त उपलब्धिको रक्षा गर्न र नागरिकको मानवअधिकारको पूर्ण प्रत्याभूति सहित बाँच्न पाउने अधिकारको सुनिश्चितता गराउन पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै आजको आम हड्तालका क्रममा गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूको तत्काल रिहाइ गर्न र झडपमा घाइते हुन पुगेकाहरुको निःशुल्क उपचार गर्न माग समेत अभियानले गरेको छ ।

यस्तै मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानले पनि विज्ञप्तिमार्फत धरपकडको विरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्