
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को अन्तिम खेलमा स्पेनसँग १-० ले पराजित भएसँगै पूर्व च्याम्पियन उरुग्वे प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
शनिबार एस्ताडियो गुआडालाजारामा भएको प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै स्पेन समूह विजेताको रूपमा नकाउट चरणमा प्रवेश गरेको हो।
स्पेनको जितमा खेलको ४२ औं मिनेटमा एलेक्स बेनाले गरेको गोल नै निर्णायक बन्यो। उरुग्वेका ४० वर्षीय अनुभवी गोलकिपर फर्नान्डो मुस्लेराको गम्भीर गल्तीको फाइदा उठाउँदै बेनाले गोल गरेका थिए।
सोही गल्तीका कारण प्रशिक्षक मार्सेलो बिएल्साले मुस्लेरालाई हाफ टाइममै मैदानबाट बाहिर निकालेका थिए। खेलको इन्जुरी समयमा उरुग्वेका अगस्टिन कानोबियोले रातो कार्ड खाँदै मैदान छाडेपछि उरुग्वेको पुनरागमन गर्ने आशा जटिल भएको थियो।
यसै समूहको अर्को खेलमा केप भर्डेले साउदी अरेबियालाई गोलरहित बराबरीमा रोक्दै विश्वकपको इतिहासमा नयाँ अध्याय थपेको छ। आफ्नो पहिलो विश्वकप सहभागितामै केप भर्डे समूहको दोस्रो स्थानमा रहँदै नकाउट चरण (अन्तिम ३२) मा पुग्न सफल भएको हो। साउदी अरेबियालाई अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने दबाब भए पनि केप भर्डेको रक्षापंक्ति तोड्न नसक्दा साउदी पनि प्रतियोगिताबाट बाहिरिएको छ।
ऐतिहासिक सफलतापछि केप भर्डेका खेलाडी र समर्थकहरू मैदानमै भावुक देखिएका थिए।