
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू एमसीसीको समर्थनमा लागेको भन्ने कुरा सत्य नभएको प्रस्टीकरण दिएका छन् ।
बिहीवारको आमहड्ताल र आन्दोलनका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले घोषित नारा लगाऔं भनेर मात्र भनेको जिकिर गरेका हुन् ।
बिहीवार हड्तालका क्रममा ललितपुरको पुल्चोकमा कार्यकर्ताले एमसीसीविरोधी नारा लगाएपछि प्रचण्डले त्यसलाई रोकेको दृष्य भाइरल बनेको थियो ।
त्यस सम्बन्धमा प्रस्टीकरण दिँदै प्रचण्डले भने- 'यो बेलामा १० थरि नारा लगाउनुभन्दा जे एजेण्डा हो त्यसैमा केन्द्रित भएर नारा लगाऔं भनेको हो । बीचमा फ्याट्ट एक जनाले त्यो नारा लगाइदिनुभयो । संघर्ष समितिले तय गरेको नारा एकातिर छ, मलाई फ्याट्ट बीचमा को घुस्यो जस्तो पर्यो । त्यस्तो ठानेर मैले जस्तो पायो त्यस्तो नारा नलाउनुस् भनेको मात्र हो । यसको अर्थ म एमसीसीको समर्थनमा लागें भन्ने होइन ।'
प्रचण्डले एमसीसीबारे पार्टीमा छलफल जारी रहेको र परिमार्जन गरेर मात्र पारित गर्नुपर्छ भन्नेमा आफू दृढ रहेको बताए ।
'एमसीसीबारे हाम्रो पार्टीको केन्द्रीय समितिमा छलफल चल्यो । केन्द्रीय समितिले कार्यदल बनायो । कार्यदलले प्रतिवेदन बुझाएको छ । पार्टीले यस विषयमा औपचारिक निर्णय लिइसकेको छैन,' प्रचण्डले भने, 'अस्ति अमेरिकी राजदूतसँगको छलफलमा पनि मैले परिमार्जनको सम्भावनाबारे कुरा गरेको छु ।'