
बहुप्रचारित जनसभाका माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विपक्षीहरूलाई केही जवाफ र केही सन्देश प्रेसित गरेका छन् ।
नेकपा विभाजनपछि एकअर्काविरुद्ध आरोपप्रत्यारोप र शक्ति प्रदर्शनको होड चलिरहेका बेला ओलीले शुक्रवार नारायणहिटी दरबार संग्रहालयअगाडि उभिएर विपक्षीहरूलाई आफू कमजोर नरहेको सन्देश दिएका हुन् ।
ओलीले प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको विशेषाधिकार भएको, राजनीतिक विवादको छिनोफानो चुनावमा जनताले गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको दोहोर्याए भने आफ्नै नेतृत्वको पार्टी नेकपाको मूलधार भएको जिकिर समेत गरे ।
विपक्षीहरूले नारायणहिटीअगाडि आमसभा राखेर ओलीले राजतन्त्र फर्काउन र हिन्दूराज्य घोषणा गर्न लागेको आरोप लगाइरहेका थिए । ओलीले त्यसको जवाफमा आफूलाई कुनै पनि हालतमा प्रतिगमन स्वीकार्य नभएको बताए । उनले सधैँजसो आज लामो सम्बोधन भने गरेनन् ।
ओलीले शुक्रवारको सभाबाट केही सन्देश दिएका छन्, जसलाई विस्तारमा चर्चा गरौं ।
पहिलो सन्देश – मूल नेकपा ओली नेतृत्वकै, प्रचण्ड-नेपालको नक्कली पार्टी !
सम्बोधनको शुरुमै ओलीले काठमाडौँको सबैभन्दा धेरै मान्छे अटाउने ठाउँमा गरिएको आमसभा स्थल पनि सानो भएको जिकिर गरे ।
उनले आजको सभालाई इतिहासकै ठूलो सभा भएको स्वघोषणा समेत गरे ।
'हामीलाई जहाँ छाने पनि ठाउँ सानो हुन्छ । काठमाडौंमा सबैभन्दा ठूलो ठाउँ छान्यौं, तर सानो भयो । त्यही पनि मानिसहरू खाँदाखाँद छ । सभा गर्ने ठाउँ छैन । फेरि पनि मान्छेहरूले सोधिराखेका छन्, मूल पार्टी कुन हो ? अहिले पनि कोही अलमलमा छ भने कठै मात्र भन्न सकिन्छ,' ओलीले आफू नै मूल नेकपा भएको दाबी गर्दै भने ।

उनले आफू नेतृत्वको नेकपा यो देशकै मूल पार्टी रहेको दाबी गरे ।
'हाम्रो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी हो,' ओलीले सम्बोधनका क्रममा भने, 'देश बनाउने र रक्षा गर्ने पार्टी हो । यो पार्टी देशको स्वाधीनताको रक्षा गर्ने र त्यसको ठीक ढंगले प्रयोग गर्ने पार्टी हो । भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो । त्यसकारण इतिहासको हिसाबले, वर्तमानको हिसाबले र देश बनाउने संकल्प बोकेको पार्टी हुनाले, समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य बोकेर हिँडेको हुनाले मूल पार्टी हो यो ।'
यद्यपि निर्वाचन आयोगले नेकपाको कुनै पनि पक्षलाई आधिकारिकता दिइसकेको छैन । ओली र प्रचण्ड-नेपाल दुवै पक्षले आफूलाई मूल पार्टी भएको दाबी गर्दै आएका छन् ।
ओलीले अर्को पक्षका अध्यक्ष प्रचण्डले एउटा सम्बोधनका क्रममा भनेको 'शाकाहारी आन्दोलनले भएन' भन्ने अभिव्यक्तिप्रति पनि कटाक्ष गरे ।
'अब शाकाहारी आन्दोलनले हुँदैन भन्नुभयो, शाकाहारी आन्दोलनले हुँदैन भनेको उहाँले चिकन चिल्ली खान्छु भनेको हो ? उहाँहरूले नरभक्षी आन्दोलन गर्न खोजेको हो ? नेपालमा अब कसैले हिंसा मच्चाउन सक्दैन । यहाँ कसैले नरभक्षी आन्दोलन गर्छु भनेर नसोचे हुन्छ ।'
'राजतन्त्रको पक्षमा लागेको छैन'
राजतन्त्र र हिन्दू राज्यतिर ढल्किन थालेको आरोप बढ्दै गएका बेला ओलीले आफू राजतन्त्रतिर नफर्किने प्रतिबद्धता व्यक्त गरे ।
'आजको यो सभा केका लागि भनेर हिजोसम्म भन्दै थिए । आज बिहानसम्म पनि । राजतन्त्र फर्काएको घोषणा गर्छ अरे । जो केपी ओली आधा दशकभन्दा बढी समय गणतन्त्र र लोकतन्त्रका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ अरे !' ओलीको आक्रोश थियो ।
उनले यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कसैले पनि तलमाथि गर्न नसक्ने बताए ।
ललकार्नेलाई जवाफ !
ओलीले केही दिनअघि केही हजार नेता कार्यकर्ता जम्मा गरेर आफूलाई ललकारिएको बताए । '२/४ हजार मान्छे जम्मा गरेर हामीलाई ललकार्ने काम भयो,' ओलीले भने, 'केपी ओली यहाँ आऊ हेर, कुन मूल पार्टी हो भनेर ललकार्ने काम भयो । त्यही भएर हामी सडकमा आउनुपर्यो । आइदिनु भयो सबैलाई धन्यवाद भन्न चाहन्छु ।'
उनले आजको आम सभालाई कास्टिङको रूपमा व्याख्या गरे । योभन्दा ठूलो आमसभा गर्ने आफ्नो चाहना रहेको पनि बताए ।
'आजको सभालाई कास्टिङको रूपमा हेर्नुपर्छ । हामीले काठमाडौंका सबै ठाउँमा स्क्रीन राखेर, स्पीकर राखेर अर्को आमसभा गर्नुपर्ने स्थिति आउने छ,' उनले भने, 'फागुन १ गते बुटवलमा, ८ गते विराटनगरमा अर्को सभा हुँदैछ । हाम्रा आलोचकहरू, मन छामेर बस्नुस् । हेर्दै जानुस्, नेपाललाई समाजवादउन्मुख हुनबाट कसैले रोक्न सक्दैन ।'
अस्थीरता होइन, चुनाव चाहियो ।
सम्बोधनका क्रममा ओलीले 'अस्थीरता होइन, चुनाव चाहियो' नारा लगाएका थिए । २/३ पटक नारा लगाएपछि ओलीले भने, 'अब सबैले सुने होलान् । उहाँहरू जस्तो हामी कसैलाई धम्की दिँदैनौं । हामी आग्रह गर्छौं, अनुरोध गर्छौं । उहाँहरूले अदालतलाई धम्की दिनुभयो । निर्वाचन आयोगलाई धम्की दिनुभयो । देशका निकायहरू स्वतन्त्र छन् भन्ने आग्रह गर्न चाहन्छु ।'
ओलीले देश अब चुनावतर्फ गएको दाबी गरे ।

'अब चुनावले फैसला गर्छ, कसको सरकार बन्ने हो, चुनावले फैसला गर्छ । निर्वाचनबाट देश संकटमा पर्छ ? जनताले आफ्नो फैसला दिएर त्यसअनुसार अघि बढ्दा देश संकटमा पर्छ ? केही मानिस कुनामा बसेर देशलाई संकटमा लैजाने तानाबाना बुनिरहेका छन् र यस्ता खालका भ्रमहरू फैलाएका छन् ।'
लोकतन्त्रप्रति प्रतिबद्ध
ओलीले लोकतन्त्रतर्फ कर्के आँखा नलगाउन चेतावनी दिए । 'प्रतिगमनको कल्पना नगरे हुन्छ, यो देश अघि बढ्यो बढ्यो,' ओलीले भने ।
उनले देशव्यापी रूपमा संसद् विघटन संविधानसम्मत छ कि छैन भनेर बलजफ्ती बहस सिर्जना गर्ने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
'संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था भयो भने संसद् विघटन गर्छ,' उनले संसद् विघटन गर्ने आफ्नो निर्णयको बचाउ गर्दै भने, 'बेलायतको संविधानमा लेखिएको छैन तर प्रधानमन्त्रीले अस्ति भर्खर विघटन गरे । हाम्रै बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने, त्यस प्रकारको प्रवृत्तिको जवाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ ।'
'सरकार गरीबका पक्षमा'
ओलीले सम्बोधनका क्रममा आफू गरीबको पक्षमा रहेको देखाउने प्रयास गरे ।
'गरीबको नोक्सान भएको कुरा सरकारले हेर्छ,' उनले बिहीवार नेपाल बन्दका दिन जलाइएको ट्याक्सी ड्राइभरको दु:ख स्मरण गर्दै भने, 'ट्याक्सीको इन्सुरेन्स गरेको होला, त्यो दिन लगाउँछौं ।'
ओलीले आमसभामा सहभागी हुन नदिनका लागि प्रचण्ड-नेपाल पक्षले नेपाल बन्द गरेको आरोप लगाए । 'नेपाल बन्द गरेर तर्साउन खोजियो । आज बाटामा खाल्टाहरू खनिए । कतिपय ठाउँमा बम राखेर विप्लव लेखियो । आफूले गरेको कामको जिम्मा लिन नसक्ने, जलाएको गाडीको जिम्मा लिन नसक्ने । अनि क्रान्तिकारी कुरा गर्ने ?' ओलीले प्रश्न गरे ।
यद्यपि नेपाल सुरक्षा स्रोतले कहीँ कतै वम भेटिएको पुष्टि गरेको छैन ।
विकास निर्माणका पुराना तथ्यांक
ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल बनाउने गरी काम गरेको दाबी गरे ।
'६ हजार किलोमिटर कालोपत्रे, ४ सय पुल, ४ सय झोलुंगे पुल, विद्युत् आयोजनाहरू सफल बनाएका छौं,' ओलीले भने, 'हामी सरकारमा आउँदा सडकभरि सडक बालबालिका हुन्थे । तिनीहरूलाई खाते भनिन्थ्यो । आज सडक बालबालिका छैनन् । जुन बालबालिकाको अविभावक छैन, तिनको अविभावक सरकार छ ।'
उनले कुनै पनि नागरिक बेसहारा नहुने बताए । नेपालमा कोही भोकै नमर्ने बताउँदै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोभिड– १९ को महामारीका बेलामा रत्नपार्कमा खाना बाँडेको प्रति कटाक्ष गरे ।

'कोही पूर्व प्रधानमन्त्रीले त अरूले पकाएको भात र दाल लिएर टेलिभिजन क्यामेराअघि फोटो र भिडियो खिच्दै डाडु लिएर बाँड्न लागे । आफूले केही काम गरे त हुन्थ्यो, काम होइन । बाँड्ने र फोटो खिचेर फेसबूकमा हाल्ने ?' डा. भट्टराईप्रति ओलीको कटाक्ष थियो ।
विकास निर्माणका कुराहरू दोहोर्याउँदै ओलीले भने, 'पञ्चेश्वर अब बन्नेवाला छ । चाँदनी दोधारामा ६ महिनामा सिँचाई हुन्छ । तराईमा डुबानलाई हामीले हटाउने काम गर्यौं। अनि २० औं वर्षदेखि हुलाकी राजमार्गको कुरा मात्र हुने गरेको थियो । हामीले हुलाकी राजमार्ग बनाउछौं भनेर शुरू गर्यौं । १० वर्षका लागि बजेट छुट्यायौं । केही ठाउँमा बाँकी छ, त्यो छिट्टै पूरा हुन्छ ।'
उनले यसअघिका भाषणहरूमा कहिल्यै नछुटाउने पूर्व-पश्चिम राजमार्ग र रेलका कुराहरू पनि दोहोर्याए । 'पूर्वपश्चिम राजमार्गमा ४/६ लेनको काम भइरहेको छ । रेल केही दिनमा सञ्चालन गर्दैछौं । पूर्व-पश्चिम रेलको बाटो निर्माण गर्दैछौं । उत्तरदक्षिण रेलमार्गका लागि भारतसँग सम्झौता भएर डीपीआर अन्तिम अवस्थामा पुगेको छ । चीनतर्फ रेलमार्गका सन्दर्भमा सहमति गरेका छौं,' उनले भने ।
द्वन्द्वमा पिल्सिएकाको घाउमा मल्हम लगाउने प्रयास
ओलीले हिजोको सशस्त्र द्वन्द्वका पीडितहरूको घाउमा मल्हम लगाउने प्रतिबद्धतासमेत जनाएका छन् । 'हिजो द्वन्द्व थियो देशमा, त्यतिबेलाको द्वन्द्वले सबै पक्षलाई दु:ख दियो,' उनले भने, 'लडाकूहरू जसलाई जनवाद आउने सुन्दर सपना बाँडेर लडाइयो, तिनीहरू आज निरीह छन् । सेना प्रहरी सशस्त्र प्रहरीले शहादत प्राप्त गर्नुपर्यो । परिवार, विधवा, टुहुराटुहुरी बन्ने अवस्था बन्यो ।'
उनले घाइतेलाई उपचार र अन्यलाई रोजगारी दिने बताए ।
'कतिपय नागरिक, कर्मचारीको हत्या भयो । हिजो पीडित भएको सबैलाई हेर्नका लागि सरकारले एउटा समिति बनाएको छ,' उनले भने, 'उचित प्रबन्ध गर्नेछ । रोजगारी दिने, घाइतेको उपचार सबैको प्रबन्ध गर्छौं ।'
दुईचार जनाले छाडेर गएपछि आयोगहरू बने ....
सम्बोधनका क्रममा ओलीले केही मान्छेहरू पार्टी छाडेर जानेबित्तिकै संवैधानिक निकायमा नियुक्ति भएको चर्चा गरे ।
'चुनाव भएको ३ वर्षपछि आयोग बने जब २/४ जना मान्छेहरूले पार्टी छाडेर गए,' ओलीले भने ।

'आयोग बन्नै नहुने, जनताको काम गर्नै नहुने, मधेशका नाममा राजनीति गर्ने तर त्यसका निम्ति काम गर्ने आयोग बन्न नदिने कस्तो षड्यन्त्र ? त्यस्तो षड्यन्त्र चिरेर हामीले आयोग बनायौं,' उनले थपे ।
उनले पार्टीभित्रकै नेताहरूले आफ्नो महत्वाकांक्षा र स्वार्थका लागि आफूलाई सरकार चलाउन नदिएको जिकिर गरे ।
संसद्लाई ठीक ढंगले चल्न दिएनन् । संसद्लाई काम नै गर्न नसक्ने पंगु बनाए । पहिलेकै जस्तो समीकरणको राजनीति, भएको बहुमतको सरकार ढालेर अस्थीरताको राजनीति गर्न खोजे । काम गर्नै नपाउने अवस्था भएपछि ताजा जनादेशका लागि जानुपर्यो,' ओलीले भने ।