
म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ मा ४०५ वटा पूर्वाधार योजना सञ्चालन गरेको छ ।
बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाका साथै उपभोक्ता समिति गठन गरेर सम्झौतालाई तीव्रता दिएको नगरपालिकाले जनाएको छ ।
बेनीमा सोमवार भएको आठौं नगर सभामा नगर प्रमुख हरिकुमार श्रेष्ठले हालसम्म १६२ को सम्झौता र ३५ वटाको भुक्तानी समेत भएको जानकारी दिए ।
‘१० लाखभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधार योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा लगेका छौं,’ उनले भने, ‘यसपालि वैशाखअघि नै योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित कार्यान्वयनमा जुटेका छौं । सडक निर्माण, स्तरोन्नति, भवन, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रणसँग सम्बन्धित योजना धेरै छन् ।’
प्रगति विवरण सार्वजनिक गर्दै नगर प्रमुख श्रेष्ठले अर्जुन मावि भकुण्डे बाहेकका विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन भएको, दरबन्दी मिलान निष्कर्षउन्मुख भएको, ८३५ जना बेरोजगारको विवरण संकलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा परिचालन गर्न १४ वटा योजनालाई १ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
सबै वडा कार्यालयमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता शुरू गरेको, एक गाउँ एक उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको, विद्यालय नर्स कार्यक्रम शुरू गरेको र कोरोना रोकथाममा विभिन्न कार्यक्रम भएको जानकारी दिए । उनले पशु सेवातर्फ हालसम्म ३ हजार १४४ पशुको उपचारका साथै १५६ कृषकलाई निःशुल्क घाँसको बीउ वितरण गरेको बताए ।
न्यायिक समितिमार्फत गत वर्षको बाँकी रहेका ४ र यस वर्ष थपिएका ४ मध्ये ३ मुद्दाको फछ्र्योट भएको छ । अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरणका साथै हिंसा प्रभावितका लागि सेवा केन्द्र स्थापना गरिएको छ ।
लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।