३० जेठ २०८३, शनिबार

रामकुमारी झाँक्री प्रहरीको निगरानीमा

माघ २७, २०७७
रामकुमारी झाँक्री प्रहरीको निगरानीमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री (केन्द्रीय सदस्य) रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सरकारी निर्देशनपछि प्रहरीले निगरानी गरिरहेको पाइएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

भीभीआईपीलाई गालीगलौज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले नेत्री झाँक्रीलाई निगरानी गरिरहेको हो ।

‘भाषणहरूमा गालीगलौज गरेको आरोपमा पक्राउ गर्नेका लागि निर्देशन आएको छ, हामीले खोजिरहेका छौं,’ महाशाखाका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘उहाँ अहिले उपत्यकाबाहिर हुनुहुन्छ । २८ गते आउने भन्ने खबर छ, आउनासाथ पक्राउ गर्ने योजनामा छौं ।’

गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले नेत्री झाँक्रीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएका थिए । गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । 

ज्ञापन पत्रमा राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै नेत्री झाँक्रीले विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरू प्रयोग गरेकाले कानूनबमोजिम कारबाही गर्न माग गरिएको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्ने सांसदहरूमध्ये नेत्री झाँक्री पनि एक हुन् । रिट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्