
बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो ।
जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घटनाको जोखिम बढेको छ । साथै यस क्षेत्रमा बिग्रिएका सवारी समयमा नहटाउँदा जामको समस्यासमेत हुने गरेको छ ।
दाउन्ने क्षेत्र अत्यधिक दुर्घटना हुने क्षेत्र भनेर चिनिन्छ । पहाडको उकालोओरालो, अप्ठेरो र घुम्ती धेरै हुँदा दुर्घटना बढी हुनेगर्छ ।
त्यसमाथि बिग्रेका सवारी छिट्टै व्यवस्थापन गर्न नसक्दा दाउन्ने क्षेत्रमा घण्टौँ जाम हुने समस्या हुँदै आएको छ ।
विनयी त्रिवेणी गाउँपालिकादेखि बर्दघाट नगरपालिकासम्मको १४ किलोमिटर क्षेत्रको दाउन्ने पहाडमा दैनिकजसो छ सात वटा सवारी बिग्रने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख मुनेन्द्र थापा बताउँछन् ।
धेरै भार बोकेका ट्रक बढी बिग्रने गरेको थापाको भनाइ छ । उकालोमा लोड तान्न नसक्दा ट्रक बिग्रने गरेको उनी बताउँछन् ।
‘दैनिकजसो छ सातवटा गाडी बिग्रेकै हुन्छ, कहिले बीच बाटोमै बिग्रन्छ , कहिले घुम्तीमै बिग्रन्छ । त्यसले गर्दा जाम हुने, दुर्घटना हुने धेरै समस्या पारेको छ,’ थापाले भने, 'सडकको बीचमा र घुम्तीमा सवारी बिग्रिँदा निकै समस्या हुने गरेको छ ।'
नवलपरासी पूर्वमा पर्ने पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा सडकको कालोपत्र उप्किएर ठूलाठूला खाल्डो हुँदा आवतजावत गर्नेले निकै सास्ती भएको गुनासो गरेका थिए ।
दाउन्ने क्षेत्रको सडक पूरै जीर्ण बनेको थियो । गुनासो आएपछि अहिले सडक विभागले दाउन्ने क्षेत्रको सडक मर्मतसम्भार गरेको छ ।
ग्राभेल बिछ्याएर रोलरले च्यापेर बाटो सम्याइएको छ भने, धुलो उड्न नदिनका लागि नियमित रुपमा पानी राख्ने गरेको छ । बाटोको मर्मत भएपछि अहिले आउजाउ गर्न सहज भएको छ ।