अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी हार स्वीकार गर्दै ह्वाइट हाउस छाडिसकेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले कार्यभार सम्हालिसकेका छन् ।
तर ट्रम्प राष्ट्रपति हुँदा भएका क्रियाकलापले झमेलामा परेका छन् । ट्रम्प राष्ट्रपति हुँदै दर्ता भएको उनी विरुद्धको महाअभियोग पद छाड्दा समेत अगाडि बढ्ने भएको छ ।
मंगलवार अमेरिकी सिनेटमा भएको बहस र मतदानमा ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव अगाडि बढाउनुपर्ने पक्षले जितेको छ । तर ट्रम्पका वकिलले पद छाडिसकेपछि महाअभियोग लगाउनु असंवैधानिक हुने तर्क गरेका थिए । अमेरिकी इतिहासमा पद छाडिसकेपछि कसैलाई पनि महाअभियोग नलगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी सिनेटले महाअभियोगलाई संवैधानिक ठहर गरेपछि अब ट्रम्प विरुद्धको महाअभियोग अगाडि बढ्ने बाटो खुलेको छ ।
ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउन क्यापिटल हिलमा समर्थकको भीडलाई भड्काएर हिंसा गराएको आरोप छ । हिंसामा ५ जनाको मृत्यु भएको थियो ।
ट्रम्पले भने हिंसामा आफ्नो कुनै हात नरहेको दाबी गर्दै आएका छन् ।