
गैर आवासीय नेपाली सङ्घले स्थापना गर्न लागेको एनआरएन इमर्जिङ फन्डमा लगानी गर्न देखापरेका कानुनी अड्चन फुकाइ सहज रूपमा लगानीको वातावरण बनाइदिन आग्रह गरेको छ।
सङ्घका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरी उक्त आग्रह गरेको सङ्घले जनाएको छ। सङ्घका अनुसार इमर्जिङ फन्ड सञ्चालन कार्यविधि गैर आवासीय नेपाली सङ्घ विनियमावली र प्रत्यक्ष वैदेशिक लगानी ऐनका प्रावधानसँग बाँझिएको भेटमा जानकारी सरकारलाई गराइएको छ। भेटमा अध्यक्ष पन्तले एनआरएन बैङ्कको अवधारणासमेत पेस गर्दै त्यसको स्थापनाका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन् ।
त्यसैगरी नेपालमा एनआरएन फाउन्डेसन सङ्घको विधानअनुसार परराष्ट्र मन्त्रालयमै दर्ता गर्न स्वीकृति प्रदान गर्न सुझाव पेस गर्दै गैर आवासीय नेपाली सङ्घले सञ्चालन गरेको कोभिड–१९ रेस्पोन्स टु नेपाली माइग्रेट वर्कर्स परियोजना सहज रूपमा कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माण गर्नसमेत अनुरोध गरिएको छ। सो अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले सङ्घले ध्यानाकर्षण गराएका र पटक– पटक आग्रह गर्दै आएका सबै विषयमा मन्त्रालय सकारात्मक रहेको बताए । गोरखापत्रमा खबर छ ।