
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तीव्रता लिएको छ । सो पार्टीका भ्रातृ संगठनहरुसमेत सक्रियताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् ।
मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या प्रकरणविरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीले आलिताल गाउँपालिकामा प्रदर्शन गरेको छ ।
संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अपराधको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताए । उनले हाल जिल्लाभरका विद्यालयमा संगठन बिस्तार भइरहेको जानकारी दिए ।
उनले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान सञ्चालन गरिएको बताए ।
सरकारसँग वार्ताको वातावरण बन्दा सुरक्षा सहजता हुने देखिएकाले सो पार्टीले संगठन विस्तारमा तीव्रता दिएको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।