
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले गर्न लागेको विरोध सभा र शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
बिहान करीब ९ बजेदेखि नै रिङरोड भित्रका सडकहरूमा निकै लामो जाम छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइएको छैन ।
‘उपत्यकाको मुख्य ठाउँमा आमसभा हुने भएपछि हामीले चक्रपथभित्र आउन दिएका छैनौं,’ महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारीले लोकान्तरसँग भने, ‘साना सवारी साधन र निजी सवारी साधनलाई मात्र भित्र छिर्न दिएका छौं ।’
महाशाखाले आज चक्रपथबाट भित्र कार्यालय आउने सवारी साधनाहरूलाई ११ बजेसम्म आइपुग्न अनुरोध गरेको छ ।
१२ बजेपछि चक्रपथभित्र आउँदा वैकल्पिक सडकहरूको प्रयोग गर्न अनुरोध गरेको प्रवक्ता अधिकारीले बताए ।
बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रमा आन्दोलनकारीहरूको लाग्ने क्रम शुरू भएकाले ती क्षेत्रमा सवारी आवागमन ठप्प जस्तै भएको छ ।
लगातारको आन्दोलन र जुलुसका कारण उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ ।
दिनदिनैको आन्दोलन र जुलुसले आफ्नो रोजीरोटी लागि गन्तव्यमा जानुपर्ने श्रमिक र जागिरमा जानेहरू हैरानीमा परेका छन् ।
३० मिनेट जाम हुँदा २ घण्टा असर
काठमाडौंको मुख्य क्षेत्र नयाँ बानेश्वर, तीनकुने, कुपण्डोल, थापाथली, माइतीघर, पुतली सडक लगायत क्षेत्रमा ३० मिनेट अर्थात् आधा घण्टा सडक ठप्प हुँदा आसपासका सडकहरूको जाम हटाउनका लागि २ घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
‘काठमाडौंको मुख्य ठाउँमा आधा घण्टा मात्रै सडक अवरुद्ध हुँदा जाम हटाउनका लागि २ घण्टा समय लाग्छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले भने ।
एसएसपी भट्टराईका अनुसार यदि त्यो क्षेत्रमा १ घण्टाभन्दा धेरै जाम भयो भने उपत्यकामा दिनभरी नै सवारी व्यवस्थापन अस्तव्यस्त हुन्छ ।
आन्दोलन हुँदा महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्नका लागि अनुरोध गर्ने गरेको एसएसपी भट्टराईले बताए ।
‘यदि पुतली सडकमा १ घण्टा मात्रै जाम भयो भने त्यसको असर कोटेश्वर, जडीबुटीसम्म पर्छ,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘यस्तै काठमाडौंको मुख्य ठाउँमा छिर्ने सवारी साधनहरूको असर त्यति नै परसम्म पनि पर्ने गरेको छ ।’