
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियता र विकासविरोधी रहेको बताएका छन् ।
नेकपा प्रचण्ड-नेपाल समूहको आमसभालाई सम्बोधन गर्ने क्रममा उनले झुटो कुरालाई रंगरोगन गरेर सत्य भनी प्रचार गर्न ओली माहिर रहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले भन्ने गरेको विकास कमिसन खाएर भ्रष्टाचार गर्नका लागि मात्र भएको भन्दै झाले भने, 'नदीमा पानीजहाज चलाउने भन्ने कुरा नेपालका नदीको पानी डाइभर्ट गरेर भारततर्फ पठाउने उद्देश्यबाट प्रेरित छ ।'
उनले जनकपुरमा आएको रेल घुम्टो ओढाएर राखिएको बताए ।
'जनकपुरमा रेल त आयो तर ६ महिनादेखि घुम्टो ओढाएर राखिएको छ । न कमला, बलान, बागमती नदीका पुल बनेका छन् न त कुनै विकास गरिएको छ,' झाले भने, '३ वर्षमा बन्नुपर्ने पुल ७ वर्षमा समेत बनेको छैन ।'
हिन्दी भाषाका शायरीहरू पढेर मन्तव्य राखेका झाले ओलीको राष्ट्रियता विभिन्न समुदायबीच घृणा फैलाउने खालको मात्र रहेको आरोप लगाए ।
जनकपुरमा नेकपाको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट झा घाइते भएका थिए ।