२८ जेठ २०८३, बिहीबार

केपी ओलीले नेपालमा फासीवादको अभ्यास गर्दैछन्– नारायणकाजी श्रेष्ठ

केपी ओलीले नेपालमा फासीवादको अभ्यास गर्दैछन्– नारायणकाजी श्रेष्ठ

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका छन् ।

संविधान अनुसार हुने चुनावको पक्षमा रहेपनि संविधानलाई घात गर्न घोषणा गरिएको चुनाव स्वीकार नगर्ने उनले बताए ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले ओलीले नेपालमा फासीवादको अभ्यास गरिरहेको आरोप लगाएका हुन् । 

‘विश्वमा अहिले दुई ढंगले फासीवाद लागू हुँदैछ । संविधानलाई औपचारिक खारेज नगरी संविधानका धारामा कालो पोतेर फासीवाद लागू गरिँदैछ । ओली फासिस्ट हुन्, ओलीले फासीवादको अभ्यास गर्दैछन्,’ श्रेष्ठले भने । 

सन् १९१९ मा इटलीका तानाशाह बेनिटो मुसोलिनीले फासीवादी दल शुरू गरेका थिए । यस्तो दलको चरित्र निरंकुशतावादी हुन्छ, यसले विपक्षीहरूलाई बलपूर्वक दमन गर्छ र समाजलाई ध्रुवीकृत गर्छ ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी गेटबाट लोकतन्त्र मास्न दिँदैनौं भनेर ठट्टा गरेको उनले टिप्पणी गरे । 

‘तपाईंहरूले केपी ओलीको ठट्टा सुन्नुभएको होला प्रतिगामी कदमबाट लोकतन्त्रको रक्षा गर्छौं रे ! फासीवाद लागू गर्ने नयाँ तरिका हो’ उनले भने । 

प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन नभएपनि एकीकृत आन्दोलनले प्रतिनिधि सभा पुनःस्थापना गराउने विश्वास व्यक्त गरे । 

‘हामी चुनावको पक्षमा छौं, सारा लोकतन्त्रवादी छन्, तर कुन चुनाव ? संविधान अन्तर्गतको चुनाव कि संविधानलाई अपहरण गर्ने लोकतन्त्रलाई घात गर्ने चुनाव ?’ श्रेष्ठले भने, ‘लोकतन्त्रलाई सुदृढ बनाउन चुनाव चाहिन्छ । लोकतन्त्रको हत्या गर्ने चुनाव होइन, यो चुनाव वास्तवमा गर्न घोषणा गरेको होइन ।’
 

salt training

कमेन्ट गर्नुहोस्