
काठमाडौंको लैनचौरस्थित सडकमा एक करिब २२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । सडक किनारमा हाल नाम, थर, वतन नखुलेका ती पुरुष मृत फेला परेका हुन् ।
यसैगरी कैलालीको मोहन्याल गाउँपालिका-७ कुईनेस्थित कर्णाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
ईलामको माई नगरपालिका-७ रातमाटे बस्ने ७३ वर्षीय गंगा बहादुर मगर सोही ठाउँस्थित च्यानडाँडा भीरबाट करिब ५० मिटर तल लडेर मृत अवस्थामा बुधबार फेला परेका छन् । सोमबार गाउँमा गुन्युचोली कार्यक्रममा गएकोमा फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त भीरमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।