
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधानको पक्षमा लड्नेहरूलाई चिडियाखानामा थुन्ने धम्की दिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलप्रति कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रचण्डले बादलको नाम उच्चारण नगरी नराम्रो दिमाग भएका भनेर टिप्पणी गरेका हुन् ।
‘नेपालका सबै राम्रा दिमाग हाम्रो साथमा छन्, नराम्रा दिमागहरु म एक दुई जनाको नाम लिन चाहन्थेँ अहिले लिन्नँ । कति नराम्रा दिमाग लोकतन्त्र र संविधानको पक्षमा लागि लड्नेलाई चिडियाखाना खानामा लाने भन्ने दिमागहरु बुझ्नु भयो नि !’ प्रचण्डले भने ।
गत माघ २३ गते दरबारमार्गमा आयोजित सभामा गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गर्ने चेतावनी दिएका थिए ।
‘अहिलेको अस्थिरता राष्टपतिको मानमर्दन गर्नेसित अस्थिरतासँग यो प्रतिगमन जोडिएको छ, प्रतिगामी तत्वले नेतृत्व विस्थापित गर्न सबै प्रकारको भ्रम छर्दै आएका छन्’ बादलले भनेका थिए, ‘नेतृत्वले आत्मसमर्पण गर्दैन र स्वेच्छाले राजीनामा नगरे मांसाहारी आन्दोलनबाट विस्थापित गर्ने भनेका छन् । मांसाहारी आन्दोलन गर्नेलाई संविधानमा व्यबस्था छ । त्यस्तालाई जावलाखेलको जुमा लगेर बन्द गरिने छ ।’
यसअघि प्रचण्डले युवाहरुको भेलालाई सम्वोधन गर्ने क्रममा मांसाहारी आन्दोलनले नपुग्ने भन्दै सिंह जस्तै गर्जिनु पर्ने बताएका थिए ।