
नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले शान्तिपूर्ण विरोधबाट प्रतिगमन नसच्चिए जनविद्रोह हुने चेतावनी दिएका छन् ।
त्यस्तो विद्रोहले गणतन्त्रविरोधी र संघीयताविरोधीलाई समाप्त पार्ने चेतावनी दिए ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयतासँग पद साटेका कारण आफूहरू सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।
‘प्रतिगमनको विरोधमा लाखौं जनता शान्तिपूर्ण विरोधमा आएका छन्, प्रतिगामीहरूले हेरून् । शान्तिपूर्ण विरोधबाट प्रतिगमन सच्चिएन भने यी जनता कुन दिन विद्रोहमा उत्रिनेछन् । जनताको विद्रोहले संघीयताविरोधी, गणतन्त्र विरोधीलाई समाप्त पार्नेछ,’ शर्माले भने ।
शर्माले सरकारले ओम्नीका लागि जनताको जीवनमाथि खेलबाड गरेको आरोप लगाए ।
उनले राज्यका सबै संस्थामा लोकतान्त्रीकरण गर्न नसके भोलिका दिनमा राजा महेन्द्रको अवतार जन्मिने खतरा रहेको बताए ।