
सुनीलकुमार पाण्डे रूपन्देहीका युवा उद्यमी हुन् । उनी रूपन्देहीको सफल उद्यमीमध्ये पर्छन् । आर्थिक रूपमा बलियो परिवारमा जन्मिएका उनी पछिल्लो समय आएर कृषि उद्यम रोजेर सफल भएका छन् ।
नेपालमै केही उद्यम गरेको भए पनि सुनीललाई कुनै समस्या थिएन । रूपन्देहीमा औद्योगिक र कृषिमा राम्रो सम्भावना भएको नगरी तिलोत्तमामा उनको आफ्नै घर थियो । काठमाडौंमा पनि उनको घर छ ।
राजधानी काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ आरती चौकका पाण्डेलाई वैदेशिक मोहले लोभ्यायो । उनी जापान गए ।
उनका दाजु पनि रोजगारीको सिलसिलामा जापानमै थिए । दाजुसँगै काम गर्ने गरी जापान पुगेका पाण्डेले १ उद्योगमा काम गर्दथे ।
वर्किङ भिसामा जापान गएका पाण्डेले जापानमा मासिक साढे २ लाख रुपैयाँ तलब बुझ्थे । जापानमा करीब १ वर्षसम्म बसेका उनलाई जापानको वातावरण र समुदाय मन परेन ।
जापानमा रहँदा उनले केही स्थानीय पशुपालन फर्ममा गएर अध्ययन गरे । फुर्सदको समयमा बाख्रा, गाई फार्म लगायतका फर्ममा उनी पुग्थे र त्यसको अध्ययन गर्दथे । जापान गएको १ वर्षमा नै उनले आफ्नो मन बदले । सोच बनाए – आफ्नै देश र गाउँमा गएर व्यावसायिक रूपमा नै बाख्रा फर्म खोल्छु । भिसा अवधि अझै २ वर्षको हुँदै उनी नेपाल फर्किए ।
स्वदेश आएका उनी काठमाडौंमा रहेको घरमा नबसी सिधै रुपन्देहीको पुर्ख्यौली घर तिलोत्तमा नगरपालिका–१ आरती चोक आए । व्यावसायिक रूपमा बाख्रापालन गर्ने सोच बनाएका पाण्डेले खोर बनाउने सामान मगाएर १ जना सहयोगी मिस्त्रीको सहयोगमा खोर निर्माण शुरू गरे ।
२०७५ सालमा स्थानीय ३० वटा बाख्रा खरिद गरी शुरू गरेको उनको फर्ममा अहिले ६६ वटा बोयर जातका बाख्रा छन् । स्थानीय जातको बाख्रापालन शुरूआत गरेका उनले बिस्तारै व्यावसायिकतालाई जोड दिँदै उन्नत जातको बोयर बाख्रापालन गरिरहेका छन् ।
३० वटा स्थानीय जातको बाख्राबाट शुरू भएको उनको ‘लुम्बिनी गोट फार्म’ले हालसम्म १५० भन्दा बढी बाख्रा बिक्री गरिसकेको छ । २५ कठ्ठा क्षेत्रफलमा उनले बाख्राको लागि फर्म स्थापना गरेका छन् भने डेढ विघा जग्गा लिज (भाडा) मा लिएर व्यावसायिक रूपमा घाँस खेती समेत गरेका छन् ।
हालै मात्र नगर प्रमुख दायित्व ग्रामीण उद्यम कार्यक्रम तिलोत्तमाले उत्कृष्ठ युवा उद्यमीको रूपमा नगद १ लाख रुपैयाँसहित उनलाई सम्मान गरेको छ ।
पाण्डेले फर्ममा २ जना कामदार राखेका छन् भने अन्य काम आफैं गर्छन् । भविष्यमा प्रदेशकै नमूना बोयरको स्रोत केन्द्रको रूपमा विकास गर्ने योजनामा रहेका उनले हालसम्म ५० लाख बढी लगानी गरेका छन् ।
आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आएका उनलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उन्नत जातको बोयर बोका प्रदान गरेको छ भने दायित्व परियोजनाले पुरस्कार स्वरूप ५० हजार र १ लाख रुपैयाँ प्रदान गरेको छ । हाल वार्षिक ७ लाख रुपैयाँ खर्च कटाएर आम्दानी गर्दै आएका युवा उद्यमी पाण्डे भन्छन्, ‘मलाई जापानभन्दा यही नै प्यारो छ ।’
‘मान्छेको भावना चाहे त्यो खुशीदेखि आत्मसन्तुष्टिसम्म वा संवेदनादेखि विशुद्ध रमाइलोसम्म नै किन नहोस्, त्यसलाई पक्रिन सक्ने हो भने जुनसुकै क्षेत्रमा हात हाले पनि छलाङ मार्न सकिन्छ,’ पाण्डे भन्छन् ।
विदेशमा नेपालको तुलनामा आम्दानी बढी हुने भएको भए पनि आत्मसन्तुष्टि नेपालमा बढी हुने उनको तर्क छ । उनी भन्छन्, ‘पैसा आवश्यक वस्तु हो तर पैसाले सबैथोक दिन सक्दैन, परिवार र स्वदेश नै प्यारो हुन्छ ।’
अबको ३ वर्षमा ३०० बढी शुद्ध बोयर बाख्रा स्टकको रूपमा पालन गर्ने र प्रदेशमै नमूना रिसर्च सेन्टर स्थापना गर्ने सोच बनाएका पाण्डेले यसलाई आफूले पूरा गर्ने बताए । केही रकम बैंकबाट ऋण लिएका उनले अझै खोर विस्तार गर्ने योजना बनाएका छन् ।

सबै बाख्राको बीमा समेत गरेका उनको फर्मबाट गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, दाङदेखि पूर्व हेटौंडाबाट बोयर बाख्रा, पाठापाठी, बोका खरिदको लागि माग आउने गरेको हुन्छ । उनले ती स्थानमा पुर्याउँदै समेत आएका छन् ।
व्यवस्थापन संकायमा स्नातकोत्तर तह पूरा गरेका पाण्डेले करीब ६ वर्षसम्म काठमाडौंमा गार्मेन्ट व्यवसाय समेत चलाएका थिए ।