
साँफे मार्तडी सडक राजमार्ग सदरमुकाम पुग्न धेरै समय लागेपनि अहिले गाउँका सडक भने चाँडै कालोपत्रेको तयारीमा छन् । २०५२ सालमा सिलानेस गरिएको साँफे मार्तडी राजमार्ग २०६५ साल कालोपत्रे काम शुरु गर्दै २०७३ साल पछि मात्र मार्तडी पुगेको थियो ।
अहिले प्रदेश सरकारले ग्रामिण सडकका लागि करोडौँ बजेट विनियोजन गर्दै गएपछि गाउँका सडक पनि चाँडै नै कालोपत्रे हुने तयारीमा रहेका हुन् । केही वर्षदेखि कच्ची सडकको रुपमा रहेका ग्रामीण सडक कालोपत्रे गर्नका लागि प्रदेश सरकारले रकम विनियोजन गर्दै आएपछि ती सकड कालोत्रपे हुन लागेका हुन् ।
गत वर्ष मात्रै बाजुराका तीन वटा ग्रामीण सडक कालोपत्रेका लागि वजेट विनियोजन गरिएपछि अहिले सो सडकमा धमाधम कालोपत्रे काम तीब्ररुपमा अघि बढिरहेको छ ।
सङ्घीय सरकारबाट सडककै लागि बजेटलाई उच्च प्राथमिकता दिएसँगै प्रदेश र स्थानीय सरकारले पनि ग्रामिण सडकलाई प्राथमिकता दिन थालेको छ ।
सुदूर पश्चिम प्रदेश सरकारको लागतमा तीनवटा ग्रामीण सडक मध्य मार्तडी घट्मुना सडकको कालोपत्रे कार्यको गत वर्षमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले शिल्यान्यास गर्नुभएको थियो ।
सडक निमार्ण कार्यका लागि १५ करोड ८३ लाख ७२ हजार ७६८ रुपिँया धुलीखेत ग्वालबा स्यामा एण्ड शंकर जेबिले ठेका लिएको छ । मार्तडी देखि भौनेरा सडक कालोपत्रे कामका लागि गत कात्तिक ७ गते देखि ०७८ पुस १५ गते सक्ने गरी सम्झौता भएको छ ।
सडक करिब आठ मिटर चौडाइमध्ये सात मिटर कालोपत्रे र एक मिटर ढल निकास गर्ने गरी कालोपत्रे हुने भएको छ । यस्तै सेरा आटिचौर ११ किलो मिटर सडक मध्ये करीब ६ किलोमिटर सडक कालो पत्रको काम शुरु भएको छ ।
झण्डै १५ करोड भन्दा बढी लागतमा बल्देबाट धुरालसैनसम्म पहिलो चरणमा कालोपत्रे काम शुरु भएको हो । झण्डै छ करोड भन्दाबढी बजेट राखेर बाटो निमार्ण कार्यको काम शुरु भएको हो ।
जिप सेवा सञ्चालन् भइरहेको सडकलाई थप विस्तार गर्ने गरी कामको थालनी गरिएको बूढीगङ्गा नगरपालिका २ का वडा अध्यक्ष हीरा थापाले बताए । गोरखापत्र दैनिकमा शेरबहादुर सार्कीले खबर लेखेका छन् ।