
नेपाली कांग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्द गरिएको थियो ।
विक्रम संवत् २०७६ माघ १५ देखि असार २७ गतेसम्म पूर्ण रूपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १ हजार ५०० बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा रहेका छन् ।
यसबाट एकातर्फ नेपाली व्यवसायी मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको प्रवक्ता शर्माले उल्लेख गरेका छन् ।