सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।
गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालीन मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा सर्वोच्च अदालतका रजिस्ट्रार कुँवरलाई नियुक्त गरिएको हो ।
माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पुस ४ गते जन्मेका कुँवर २०५५ सालमा शाखा अधिकृतको रूपमा निजामति सेवामा प्रवेश गरेका थिए ।
सर्वोच्च अदालतको रिक्त एक जना रजिस्ट्रारमा निर्मला पौडेललाई नियुक्त गरिएको छ । गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै पौडेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ ।
पौडेल सर्वोच्च अदालतको रजिस्ट्रारमा पुग्ने पहिलो महिला हुन् । यसअघि पौडेल प्रशासकीय अदालतको रजिस्ट्रार (सहरजिस्ट्रार) थिइन् । २०२४ वैशाखमा विराटनगरमा जन्मेकी पौडेल २०५२ मंसिर महिनाबाट शाखा अधिकृतको रूपमा निजामति सेवामा प्रवेश गरेकी थिइन् ।