
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनु प्रतिगमन हो भने नेपालको संविधानमै यसको व्यवस्था रहेको तर्क गरेका छन् ।
सिंहदरबार पुनर्निर्माणपछिको उद्घाटन कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव कसरी प्रतिगमन हो भनेर प्रश्न गरेका छन्।
‘प्रतिनिधि सभाको विघटनपछि आपत्तिजनक आरोप लगाइएको सुनें, साथीहरू के वास्तवमै बहस गर्दै हुनुहुन्छ कि लाञ्छना मात्रै लगाइरहनुभएको छ ? के निर्वाचन प्रतिगमन हो ?’ उनले सोधे, ‘निर्वाचनलाई प्रतिगमन भनेको हो भने अहिले नभए पनि २ वर्षपछि त चुनाव हुन्छ नै । चुनावलाई प्रतिगमन हो भन्ने हो भने प्रतिगमन त हाम्रो संविधानमा नै छ । साथीहरू केलाई प्रतिगमन भनिरहनुभएको छ ?’
उनले अगाडि थपे, ‘म सरकारमा टाँसिरहन्छु भनेको छैन, जनताको बीचमा जानु कसरी अलोकतान्त्रिक र प्रतिगमन ?’ अघिल्लो चुनावमा जनादेश ठीकै भएपनि व्यक्ति र पात्र ठीक नभएकाले अबको चुनावबाट ठीक पात्रलाई जनताको प्रतिनिधि बनाउन खोजिएको बताए ।
ओलीले प्रतिनिधिसभा संसदको ३६% संख्यालाई जतिपल्ट गने पनि ५१% नपुग्ने भएकाले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले संसदमा आफूलाई ६४% सदस्यको समर्थन रहेको दाबी गरे ।
‘नेकपाभन्दा बाहिरबाट जहाँ ३६% संख्या जतिपल्ट गने पनि ५१% पुग्दैन । कुनै वैकल्पिक सरकारको सम्भावना छैन,’ उनले भने ।
संसद विघटन नगरेको भए अस्वस्थ गतिविधिको बाटो खुला हुने र त्यसले अराजकता निम्त्याउने भएकाले विघटन गरिएको उनले बताए । ‘मैले विघटनको बाटो नगएर अस्वस्थ गतिविधिको बाटो खुला गरिदिने हो भने एकीकृत पार्टी नरहने, कसैसँग बहुमत नरहने, विभिन्न समीकरण खेल शुरू हुने र देश अस्थिरता र अस्थायित्वतिर जाने । ती सम्भावनाहरू स्पष्ट देखा परे,’ उनले भने, ‘फेरि उही महिना–महिनामा सरकार परिवर्तन हुने । यस्तो अनियन्त्रित शृंखला शुरू हुने । यस बाटामा राष्ट्रिय राजनीति थकेलिने सम्भावना थियो ।’
देशलाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न नदिन विघटनको निर्णय लिइएको ओलीले बताए । ‘प्रतिनिधि सभाको बाँकी यस कार्यकाललाई राजनीतिक अस्थिरताको खेल मैदान बन्न दिनु हुँदैन । यस्तो बन्न दिने कि अर्काे विकल्पमा जाने ? प्रधानमन्त्रीका हैसियतमा मेरासामु २ विकल्प मात्रै थिएँ,’ उनले भने, ‘जनताले मलाई दिएको विश्वास र जिम्मेवारी पूरा गर्न दिइएन । त्यसकारण म पुनः जनताका बीचमा जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ भन्ने निर्णयमा पुगें ।’
बाहिरबाट कुनै आलोचना नभइरहेका बेला पार्टीभित्रकै साथीहरूले सकभर अल्मल्याउने, अल्मल्याउन नसके निहुँ खोजेर कामै गर्न नदिने गतिविधि गरेका ओलीले बताए ।
‘पार्टीकै १ जना व्यक्तिले झूटो लाञ्छनाको पत्र पेश गरेकोबाहेक केही आलोचना छैन । संसदीय दलमा मेराविरुद्ध कुनै उजुरी छैन । संसदीय दलका सदस्यबाट कुनै समस्या पर्यो भनेर माग पनि छैन, यस्तो माग संसदीय दलका उपनेता, प्रमुख सचेतक, सचेतकसम्म पनि आएको छैन,’ उनले भने ।