
श्रीलंका पुर्याएर मानव बेचबिखन गर्ने फरार अभियुक्त बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने ३६ वर्षीय खेमबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुवेदीले १ महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानुपर्छ भन्दै ललाईफकाई विभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगञ्ज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्याएका थिए ।
श्रीलंका पुर्याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्याएर बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा २०७७ मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।
मुद्दामा संलग्न रही फरार भएकामध्ये सुवेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वतको कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।