३१ जेठ २०८३, आइतबार

पुनर्निर्माण शुरू भएको ७० महिनापछि बन्यो सिंहदरबार, प्रधानमन्त्री ओलीबाट उद्घाटन

फागुन ३, २०७७
पुनर्निर्माण शुरू भएको ७० महिनापछि बन्यो सिंहदरबार, प्रधानमन्त्री ओलीबाट उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित सिंहदरबार ३ मोहडाको उद्घाटन गरेका छन् ।

विक्रम संवत् २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएपछि सोमवार उनले उद्घाटन गरे ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका ३ वर्षे कार्यकालका विषयमा जानकारी गराएका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पश्चिम बाहेकका ३ मोहडाको लागत ८७ करोड रुपैयाँमा पुनर्निर्माण भएको हो । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनमा सर्ने जनाइएको छ ।

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

पुनर्निर्माण सम्पन्न भई उद्घाटन भएका मोहडा विक्रम संवत् २०३० सालको आगलागीमा परेपछि विक्रम संवत् २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको थियो ।

भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र राखिएको छ । कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावा सहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ ।

सिंहदरबार पुनर्निर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार २ चरणमा ठेक्का व्यवस्थापनमार्फत ३ मोहडाको पुनर्निर्माण भएको हो ।

उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेण्ट, बालुवा, छड, ‘बोन्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए ।

निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको तथा शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको एकाइले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्