
दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना महामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ ।
एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।
कोरियाको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको संख्या सन् १९९८ मा भएको एसियन वित्तीय संकटपछिको पहिलो हो ।
कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् । त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् ।
कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ । हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या ८ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने ५ लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।
दैनिक ज्यालादारीमा काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएको तथ्यांक सार्वजनिक भएको छ । जानकारहरू कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरूपमा असर पर्ने बताउँछन् ।
कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार ६ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र ईपीएसको परीक्षा समेत हुन सकेको छैन ।