भारतमा हुने सडक दुर्घटनाका कारण थप गरीब तथा मानसिक रोगीहरू बढिरहेको विश्व बैंकले हालै जारी गरेको एक प्रतिवेदनले देखाएको छ ।
'ट्राफिक क्य्राश इन्जुरी यान्ड डिसेबिलिटी : द बर्डन अन इन्डियन सोसाइटी' शीर्षकको प्रतिवेदनमा सडक दुर्घटना तथा तिनले पार्ने प्रभावको जानकारीहरू दिइएको छ ।
सडक सुरक्षाका विषयमा गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको प्रतिवेदनमा उत्तर प्रदेश, बिहार, तमिलनाडु र महाराष्ट्रका आँकडा छन् । यी चार राज्यमा गरिएका सर्वेक्षणले देखाएअनुसार दुर्घटनामा मृत्यु हुने मानिसको परिवारकै बिजोक भएको पाइएको छ ।
सडक दुर्घटनामा ज्यान गुमाउने वा अपांग हुने अवस्थाको असर ग्रामीण परिवारमा बढी परेको छ ।
अनुसन्धानका क्रममा ग्रामीण परिवारका ५६ प्रतिशत मानिसको जिन्दगी ध्वस्त भएको पाइयो । घरमा कमाउने पुरुषको मृत्यु भएमा वा अपांग भएमा पूरै जिम्मेवारी महिलामा आइलाग्छ ।
दुर्घटनामा परेका ७५ प्रतिशत मानिसको घरमा आर्थिक संकट आउँछ र त्यसको असर जिन्दगीभरि रहन्छ ।
दुर्घटनाको सामाजिक प्रभावका बारेमा पनि अनुसन्धानले खुलासा गरेको छ । चार राज्यमा गरिएको सर्वेक्षणमा थाहा भएअनुसार घरमा कमाउने व्यक्ति दुर्घटनाको शिकार भएमा ६४ प्रतिशत तयस्तो परिवारको जीवनस्तर खस्किन्छ र उनीहरू गरीबीमा धकेलिन्छन् ।
अनि ५० प्रतिशतभन्दा बढी परिवारका मानिसमा मानसिक तनाव र अन्य रोग देखिन्छन् ।