
सरकारले झण्डै १ हप्ताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमवार अन्तिम रूप दिइएको छ ।
गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले १७ जना सचिवको सरुवा गरे पनि विवाद र असन्तुष्टिका कारण सरकारले सरुवा सूची सार्वजनिक गर्न सकेको थिएन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भने आफूलाई अन्यायपूर्ण रूपमा मनोबल गिराउने गरी सरुवा गरिएको भन्दै सरुवा नसच्याए राजीनामा दिने चेतावनी दिएका छन् ।
शुरूमा मैनालीको सरुवा सार्वजनिक खरिद अनुगमन कार्यालयमा भएको थियो तर मैनालीले आपत्ति व्यक्त गरेपछि उनको सरुवा निर्णयलाई होल्ड गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
मैनाली तुलनात्मक रूपमा इमान्दार सचिवका रूपमा परिचित छन् । इमान्दार सचिवको हुर्मत लिन खोजेको भन्दै सरकारको आलोचना समेत भएको छ ।
मैनालीलाई वित्त आयोग पठाउने भनिए पनि त्यसमा पनि उनले सहमति जनाएका छैनन् । सम्भवत मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिने स्रोतले जानकारी दिएको छ ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत बिहीवार भएका सचिवको सरुवाको पत्र केही सचिवलाई थमाएको छ । केहीले भने पत्र बुझ्न मानेका छैनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले नै सरकारले सचिव सरुवाको कुनै मापदण्ड बनाउन नसकेको र सोर्सफोर्सका आधारमा हचुवामा सचिवको सरुवा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूले मनोमानी रूपमा गरिने सचिव सरुवाले प्रशासन क्षेत्रको विकासमा गम्भीर धक्का लाग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कसको सरुवा कहाँ ?
१. तोयम रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२. सुरेश अधिकारीः निर्वाचन आयोग
३. वेगेन्द्रराज शर्मा पौड्यालः भूमिव्यवस्था सहकारी तथा गरीबी निवारण
४. सूर्य गौतमः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
५. देवेन्द्र कार्कीः राष्ट्रिय सतर्कता केन्द्र
६. अर्जुन पोखरेलः उद्योग
७. दिनेश भट्टराईः वाणिज्य
८. महेन्द्र गुरागाईः लोकसेवा आयोग
९. वैकुण्ठ अर्यालः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१०. देवकुमारी गुरागाईः उपराष्ट्रपति कार्यालय
११. केदार न्यौपानेः युवा तथा खेलकुद मन्त्रालय
१२. टेक नारायण पाण्डेः सार्वजनिक खरिद अनुगमन कार्यालय
१३. मणिराम गेलालः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१४. सुरेश आचार्यः नेपाल ट्रस्ट
१५. रामप्रसाद थपलियाः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
१६. सुमन अर्यालः प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन
१७. गोपीनाथ मैनालीः होल्ड
राजधानी दैनिकमा खबर छ ।