१३ असार २०८३, शनिबार

बीपी प्रतिष्ठानमा बेथिति : नक्कली काज मिलाएर करोड खर्च, घुस र भ्रष्टाचारको अर्काे मुद्दा

फागुन ४, २०७७
बीपी प्रतिष्ठानमा बेथिति : नक्कली काज मिलाएर करोड खर्च, घुस र भ्रष्टाचारको अर्काे मुद्दा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकूलपति प्रा.डा. राजकुमार रौनियारले आफ्नो काज आफैं स्वीकृत गरेको तथ्य खुलेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उपकूलपति रौनियारले आफैं काज स्वीकृत गरेको पाइएको हो । 

उनले काठमाडौंदेखि विराटनगरसम्म ४० पटक गरेको हवाईयात्राको औचित्य पुष्टि गर्ने प्रमाण फेला परेको छैन । रौनियारविरुद्ध डेढ वर्षदेखि आफ्नो काज आफैं स्वीकृत गर्दै पद जोगाउन प्रतिष्ठानको खर्चमा हवाईजहाजमा काठमाडौं जाने–आउने गरेको आरोप छ । यसका साथै तीनतारे होटलमा बस्ने, खाने गरेर करोडजति रकम हिनामिना गरेको भन्दै परेको उजुरीसम्बन्धी सतर्कता केन्द्रले छानबिन गरेको हो ।

छानबिनमा उपकुलपति रौनियारले सन् २०१८ जुलाई ६ देखि सन् २०१९ मार्चसम्म पटक–पटक गरी २ लाख २८ हजार ८ सय बराबरको हवाई यात्रा गरेको देखिएको छ । सन् २०१८ अगस्ट ९, २४, २७, अक्टोबर ५, १०, नोभेम्बर २१, २३, २६ र सन् २०१९ फेब्रुअरी २१ को बोर्डिङ पास पेस नगरेको तथा सन् २०१८ डिसेम्बर २३ को बोर्डिङ पास अर्कै व्यक्तिको नाममा पेस गरेको  छानबिनमा देखिएको छ । 

सन् २०१८ नोभेम्बर २ को टिकटमा ६ हजार ९ सय उल्लेख भएको देखिन्छ । तर मेडिया ट्राभलको नाममा ७ हजार ९ सयको बिल पेस गरेर हिनामिना गरेको देखिएको छ ।

सतर्कताको प्रतिवेदनमा भ्रमण गर्दा प्रयोग गरेको भ्रमण साधन हवाईजहाजको टिकट र बोर्डिङ पास पेस भए पनि भ्रमणको औचित्व पुष्टि गर्ने प्रमाण पेस गर्न नसकेको पाइएको छ ।

उपकुलपति डा. रौनियार काठमाडौं आउँदा तीनतारे होटल मनास्लुमा बस्ने गरेको देखिएको छ । होटल खर्चबापत ९२ हजार ५४१ रुपैयाँको बिल बीपी प्रतिष्ठानको नाममा पेस गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार उनले २०७५ साउन १ देखि चैत ९ गतेसम्म पटक–पटक गरी ५ लाख ६४ हजार ४६० बराबरको दैनिक भ्रमण खर्च बुझेका छन् । 

छानबिन गर्दा भ्रमणको औचित्य पुष्टि गर्ने प्रमाण पेस गरेको नदेखिएकाले यो भ्रमणलाई कानुनसम्मत भन्न नमिल्ने देखिएको सतर्कताले जनाएको छ । 

प्रतिष्ठानको जिम्मेवार पदाधिकारीलाई भ्रमण आदेश स्वीकृत गर्दा भ्रमण गर्नुपर्नाको कारण पुष्टि गर्ने प्रमाण पेस गरेपछि मात्र स्वीकृत गर्न सतर्कताले निर्देशन दिएको छ । प्रतिवेदनमा जिम्मेवार पदाधिकारीले कार्यक्षेत्रभन्दा बाहिर भ्रमण गर्दा भ्रमणको स्पष्ट उद्देश्यसहित भ्रमण गर्न भनिएको छ । 

कार्यसम्पन्न भएपछि अनिवार्य रूपमा प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाउन प्रतिष्ठानलाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी एवं उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

घुस र भ्रष्टाचारको अर्को मुद्दा डा. रौनियारविरुद्ध अख्तियारमा चलिरहेको छ । रौनियार २०७६ असार २६ गते ८ लाख घुससहित पक्राउ परेका थिए ।

नख्खु कारागारमा भएको अनियमितता सम्बन्धमा पनि केन्द्रले छानबिन गरेको छ । छानबिनपछि कालोबजारी नियन्त्रण गर्न प्रत्येक आर्थिक वर्षको सुरुमै कैदीबन्दीले उपभोग गर्ने उपभोग्यवस्तु र मालसामान आपूर्ति गर्न संरचनात्मक इकाइ लिने गरी कारागार व्यवस्थापन विभागलाई निर्देशन दिने निर्णय गरेको छ । यसका लागि आपूर्तिकर्ताको प्रतिस्पर्धाका आधारमा छनोट गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ । 

उजुरीमा उल्लिखित आरोपको तथ्य पुष्टि हुने आधार नदेखिएकाले फाइल तामेलीमा राख्ने निर्णयसमेत केन्द्रले गरेको छ ।

टुकुचा खोला कोरिडोर निर्माण, गोल्फुटार–टोखा जोड्ने सडकको भद्रकाली खण्डमा न्यूनतम पूर्वाधार पूरा नगरी ढलान गरेको सम्बन्धमा गरेको छानबिन प्रतिवेदन पनि सतर्कताले सार्वजनिक गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्