
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला मंगलवारबाट अदालतले सहयोगीका रूपमा झिकाएका 'एमीकस क्युरी'को बहस शुरू भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीका रूपमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बारबाट २ जना गरी ५ जनालाई अदालतको सहयोगीका रूपमा सहभागी गराइएको छ ।
एमिकस क्युरीका तर्फबाट पहिलो बहस वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गर्दैछन् । उनले आफ्नो तर्फबाट अदालतलाई राय दिने छन् ।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीका अलावा विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।
ती रिटहरूमाथि रिट निवेदक पक्ष, विपक्षी र रिट निवेदकको जवाफी बहस पनि सम्पन्न भइसकेको छ ।
एमिकस क्युरीले राय दिइसकेपछि बहस सकिनेछ ।