काठमाडौं, ५ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ५८३९ मतअन्तरसहित अग्र स्थानमा छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका शाक्यले १७७३२ मत ल्याउँदा नेपाली कांग्रेसका राजुराज जोशीले ११८९३ मत ल्याएका छन् ।
विवेकशीलकी रञ्जु दर्शनाले ६९०२ मत ल्याएर तेस्रो स्थानमा रहँदा साझा पार्टीका उम्मेदवार किशोर थापाले ५१५७ मत ल्याएका छन् ।
यसअघि नै हार स्वीकार गरिसकेका माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले २००१ मत ल्याएका छन् ।
अहिले काठमाडौं महानगरपालिकाका १५ वटा वडाको मतगणना भइरहेको छ । र, नतिजा सार्वजनिक भइसकेका वडाहरुमा एमालेले ३ र कांग्रेसले २ ठाउँमा जित हासिल गरेको छ ।
सार्वजनिक मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले काठमाडौं महानगरका १, २ र २७ नम्बर वडाको अध्यक्षमा जीत हासिल गरेका छन् भने २५ र २८ नम्बर वडाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।