
देशका विभिन्न स्थानमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने महाशाखाले जनाएको छ ।
मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै तथा बाँकी हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।