
सामाजिक सञ्जालमार्फत ठगी कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले टोखा नगरपालिका–११ भण्डारी टोल बस्ने पर्वतको टकलाक घर भएका ४५ वर्षीय हरि प्रसाद बस्याललाई मंगलवार पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत यूकेमा बसोबास गर्ने डाक्टर माईकल अलवर्ट भन्ने व्यक्तिले साथी बनाई कुरा गरी उपहारका सामानहरू यूकेबाट पठाएको छ र सामान भारत हुँदै नेपाल आउँदैछ भनेपश्चात भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई सम्पर्क गरी भन्सार छुटाउनको लागि करबापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गरेको र सो रकममध्ये ५ लाख २० हजार रुपैयाँ काठमाडौं गोगंबु बसपार्कस्थित कालीगण्डकी गेस्ट हाउसमा व्यक्तिलाई भेटेर दिएपश्चात पनि पीडितलाई पटक–पटक रकम पठाउन भनी फोन आएपछि पीडितले आफू ठगिएको थाहा पाई दिएको सूचनाको आधारमा ठगी कार्यमा संलग्न बस्याललाई प्रहरीले पक्राउ हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले गोंगबु बसपार्कस्थित कालीगण्डकी गेस्टहाउस नजिकबाट बस्याललाई पक्राउ गरेको छ ।
बस्यालबाट १० थान विभिन्न व्यक्तिको नाममा जम्मा गरेको भौचर, २ थान मोबाइल र नगद १ लाख ७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
बस्याललाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ब्यूरोले जनाएको छ ।