
विभिन्न अन्तरिक्ष कम्पनीहरूले अन्तरिक्षको यात्रामा जान चाहने पर्यटकहरूका लागि रकेट बनाइरहेको भए पनि एक कम्पनीले चाहिँ विशाल बेलूनमा राखेर त्यहाँ पठाउने योजना बनाएको छ ।
स्पेनको स्टार्टअप कम्पनी जिरो टु इन्फिनिटीले सर्वसाधारणलाई हिलियम बेलूनमा राखेर पृथ्वीबाट एक लाख ३० हजार फीट माथि पुर्याउन खोजेको छ । त्यस बेलूनको व्यास ४२० फीट छ ।
यो पूरै यात्राका लागि ६ घन्टा लाग्छ । माथि जान तीन घन्टा, अन्तरिक्षमा एक घन्टा र पृथ्वीमा फर्कन दुई घन्टा ।
जिरो टु इन्फिनिटीले सन् २००९ मा कम्पनी खुलेदेखि नै यस सोचमा काम गरिरहेको हो ।
यसका लागि डेढ करोडभन्दा बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
इलोनको स्पेसएक्स कम्पनी र जेफ बेजोसको ब्लु ओरिजिन दुवैले अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रता कायम गरेका छन् ।
तर दुवै कम्पनी सफल हुन सकेका छैनन् जसले गर्दा अन्य कम्पनीहरू पनि दौडमा सामेल हुन पाएका छन् ।
जिरो टु इन्फिनिटीको अन्तरिक्ष पर्यटनमा यात्रुहरूलाई दुई दिनको सुरक्षा तालिम दिइनेछ र यात्रा अवधिभरि चाहेमुताबिकको भोजन उपलब्ध गराइनेछ ।