
सरकारले पूर्वभीआईपी र भीभीआईपीहरूको सुरक्षा कटौती गरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व जनमुक्ति सेनाले सुरक्षा दिन थालेका छन् ।
विकसित हुँदै गरेको पछिल्लो राजनीतिक घटनाक्रमपछि पूर्वाग्रही तरिकाले सुरक्षाकर्मीहरु कटौती गरिएको पूर्व जनमुक्ति सेनाका कमाण्डरसमेत रहेका बागमती प्रदेश सांसद युवराज दुलाल 'शरद'ले लोकान्तरलाई बताए ।
‘अध्यक्ष प्रचण्डलाई सबैभन्दा बढी सुरक्षा थ्रेट छ । त्यो कुरालाई मध्यनजर गरेर संख्या अपुग भएका कारणले प्रहरी र सशस्त्र प्रहरीसँगकै समन्वयमा युवा संठनको नेतृत्वमा सुरक्षा प्रदान गरेका हौँ,’ शरदले लोकान्तरसँग भने, ‘उहाँहरु सुरक्षासम्बन्धी तालिममा अनुभव भएकाले दोस्रो घेरामा रहेर, मेकअपका रुपमा काम गर्नुहुन्छ ।’
शरदका अनुसार तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएसँगै नेपाली सेना, सशस्त्र र प्रहरी मिलेर प्रचण्डलाई सुरक्षा दिएको अनुभवका आधारमा पूर्वजनमुक्ति सेनालाई सदुपयोग गरिएको हो ।
उनीहरुले प्रचण्डको घर, कार्यक्रमस्थल लगायतका ठाउँहरुमा सुरक्षा निगरानी, सुरक्षा विश्लेषण गर्ने शरदले बताए ।
‘सरकारले जानी–जानी प्रचण्डको सुरक्षा कटौती गरेका हुनाले निवेदन हालेर थप सुरक्षाकर्मी माग्न जाँदैनौं । सरकारले जानेर दिने हो,’ उनले भने ।
प्रचण्डको सचिवालय स्रोतका अनुसार एकै पोशाकका करीब आधा दर्जन पूर्वलडाकूले उनलाई सुरक्षा दिइरहेका छन् ।
मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख छ ।
यसअघि प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ र सशस्त्र प्रहरी इन्स्पेक्टरको कमाण्डमा ४७ जना गरी ७३ जना सुरक्षाकर्मीहरु थिए ।
सरकारको निर्णयपछि प्रहरीका २४ जना र सशस्त्रका ३१ जना गरी ५५ जना सुरक्षाकर्मी फिर्ता आइसेका छन् ।
कार्यविधि संशोधनलगत्तै गृहमन्त्रालयले दिएको निर्देशनअनुसार पूर्व पदाधिकारीहरुको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४५० भन्दा बढी जनशक्ति हालसम्म फिर्ता भइसकेका छन् ।
गृहमन्त्रालय भन्छ -जानकारी छैन
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रचण्डले आफ्नो सुरक्षाका लागि पूर्व जनमुक्ति सेनाका लडाकुहरू खटाएको विषयमा मन्त्रालयलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । राजनीतिक नेतृत्वले अगाडि पछाडि कार्यकर्ता लिएर हिँड्नु स्वभाविक भएको तर सुरक्षा फौज जस्तै राख्न भने नपाउने उनको भनाइ छ ।
‘कार्यकर्ता अघिपछि हिँड्नु त स्वाभाविक हो तर सुरक्षा फौज जस्तै गरेर भने राख्न भने पाइँदैन्,’ बुढाले लोकान्तरसँग भने ।
सरकारले प्रचण्ड लगायत पूर्व प्रधानमन्त्रीहरुलाई आवश्यक पर्ने सुरक्षा दिएको गृहमन्त्रालयले बताएको छ । तर थप सुरक्षाकर्मी आवश्यक छ भनेर जानकारी गराएको खण्डमा सुरक्षाकर्मीको संख्या थप गर्न गरिदिन सक्छ ।
‘उहाँलाई थप सुरक्षा आवश्यक छ भनेर जानकारी गराएको खण्डमा सुरक्षा चूनौतीलाई विश्लेषण गरेर थप्न मिल्छ,’ प्रवक्ता बुढाले भने ।