
कोरोना महामारीका कारण प्रभावित भएको विद्यालयको पठन पाठनलाई व्यवस्थित गर्नका लागि चालू शैक्षिक सत्र २ महिना लम्ब्याउने निर्णय सरकारले गरेको छ ।
सामान्यतया चैत महिनामा सकिने शैक्षिक सत्र लम्ब्याएर जेठसम्म पुर्याउन लागिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चालू चालू शैक्षिक सत्र जेठसम्म कायम गरिएको लोकान्तरलाई जानकारी दिए ।
२०७७ फागुन ५ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर चालू शैक्षिक सत्र जेठसम्म पुर्याउनका लागि शिक्षा नियमावली संशोधन गरिएको छ ।
'शिक्षा नियमावलीमा शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैत्र मसान्तसम्म सकिने भनेर उल्लेख छ,' प्रवक्ता शर्माले लोकान्तरसँग भने, 'तर कोरोना महामारीका कारण यो सत्रको पठनपाठन पूर्णरूपमा प्रभावित भएकाले पाठ्यपुस्तक समायोजन गरेर पठन-पाठन सम्पन्न गर्नका लागि अझ २ महिना आवश्यक देखिएकाले म्याद थपिएको हो।'
महामारी वा अन्य कुनै प्रकोप तथा प्रतिकूल परिस्थिति हुँदा शिक्षा नियमावली संशोधन गर्न सक्ने अधिकारलाई प्रयोग गर्दै शिक्षा नियमावलीमा रहेको उक्त म्यादसम्बन्धी प्रावधान संशोधन गरिएको प्रवक्ता शर्माले बताए ।
यसअघि २०७२ सालमा भूकम्प आउँदा भूकम्प प्रभावित १४ जिल्लामा शैक्षिक सत्र लम्ब्याइएको स्मरण उनले गराए ।
एक वर्षमा ३६५ दिन भएपनि विद्यालय तहमा पठनपाठन भने २ सय २० दिन वा १ हजार २५ घण्टा (पिरियड)मात्र हुने हुँदा यो वर्षको पठन पाठनलाई कम्प्लिट गर्नका लागि २ महिना थप्नु बाध्यता नै भएको उनको भनाइ छ ।
सामान्यतया चैत महिनामा परीक्षा सञ्चालन हुन्छ। तर, गत वर्षको चैत्र ११ गते नै कोरोना महामारीका कारण लकडाउन घोषणा भएपछि निर्धारित क्यालेन्डरअनुसार परीक्षा सञ्चालन हुन सकेन ।
'वैशाख १५ देखि २० गतेसम्म विद्यार्थी भर्ना अभियान मात्र सञ्चालन हुन्छ, भर्ना भए पनि त्यो समयमा पठनपाठनको काम भने हुने गर्दैन,' प्रवक्ता शर्माले भने, 'वैशाख २० गतेपछि पठनपाठन शुरू हुनु पर्नेमा त्यसो हुन सकेन ।'
कतिपय विद्यालयले असारपछि वैकल्पिक माध्यम (अनलाइन)मार्फत कक्षा सञ्चालन गरेका थिए भने कतिपय विद्यालयमा असोजपछि मात्र पठनपाठन भएको थियो । कम समयावधिमा कक्षा पूरा हुन नसक्ने भएकाले यो शैक्षिक वर्षका लागि दुईमहिना म्याद थपिएको उनले बताए ।
यद्यपि आगामी शैक्षिक सत्र भने असारमा शुरू भएपनि चैत महिनामा नै सकाइने उनले बताए । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक समायोजन गरेर दिएको ढाँचाअनुसार पठनपाठन सञ्चालनका लागि विद्यालयले शैक्षिक क्यालेन्डर परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।
पछिल्ला कक्षाहरूमा पढ्न मिल्ने पाठहरू नपढाउने गरी एक वर्षका लागि पाठ्यपुस्तक समायोजन गरिने उनको भनाइ छ ।
उदाहरणका लागि कक्षा ७, ८ र ९ को गणित विषयमा ऐकिक नियमको पाठ छ । ८ र ९ मा विस्तृत रूपमा पढिने भएकाले कक्षा ७ मा उक्त पाठ नपढाउने गरी पाठ्यपुस्तक समायोजन गरिने प्रवक्ता शर्माले बताए । अन्य विषयमा पनि यस्ता खालका पाठहरूलाई समायोजन गरी मिलाउन सकिने छ ।
यसका साथै लामो समयका लागि दिइने बिदा पनि विद्यालयहरूले कटौती गर्नुपर्ने छ ।
'जस्तै ४५ दिनसम्म हिउँदे वा वर्षे विदा, असोजमा घटस्थापनादेखि तिहार तथा तराईमा छठसम्मको बिदालाई कटौती गरेर निर्धारित समयसम्म पठनपाठन सकाएर जेठ महिनाभित्र परीक्षा सक्नुपर्ने हुन्छ,' शर्माले लोकान्तरसँग भने, 'त्यसपछि अर्को वर्ष २०७८ को शैक्षिक सत्र भने असार १ गतेबाट शुरू गरेर चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।'
यद्यपि कोरोना महामारीले थप प्रभावित भए पछि नै त्यसलाई मिलान गरिने उनले बताए ।