
रुपन्देहीको स्थलमार्ग बेलहिया नाका सहज गर्नुपर्ने माग राख्दै पर्यटन व्यवसायीले सीमा नाकामा निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन् ।
व्यवसायीले नेपाल–भारत दशगजामा धर्ना, मैनबत्ती जुलुस लगायतका विरोधका गतिविधिहरू गर्दै आएका छन् ।
स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने नाका बेलहिया सरकारले नाम मात्र खोलेको भन्दै पूर्ववत अवस्थामा सवारीसाधन आवगमन सहितको व्यवस्थाका साथ सीमा सञ्चालनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
पर्यटन र पर्यटकको पुनः निरन्तरता तथा सञ्चालनका लागि बेलहिया नाकाबाट पूर्व अवस्था जस्तै आवतजावत र पर्यटकीय गतिविधी सहितको वातावरण बनाउन फागुन ३ गतेबाट चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन भइरहेको सिद्धार्थ होटल एशोसियशन शानका अध्यक्ष सीपी श्रेष्ठले बताए ।
सीमा नाकाहरू पूर्णरूपमा सञ्चालन नगर्दासम्म हरेक दिन बेलहिया नाकामा धर्ना बस्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।
‘हामीले सामूहिक रूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सीमा सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका थियौं । १ हप्तामा नाका खोल्ने आश्वासन दिए पनि हालसम्म खोलिएको अवस्था छैन,’ उनले भने, ‘हामीले विरोध स्वरूप मौनबत्ती जनाए पनि अबको १ हप्ताभित्र कुनै व्यवस्था नभए दशगजाबाट नै मालबाहक गाडीसहित सम्पूर्ण होटल बन्द गरिने छन् ।’
लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरू धर्ना बसेका छन् । कोरोना महामारीका कारण सीमा नाकाहरू १ वर्षदेखि बन्द छन् ।
‘नाका सञ्चालन नहुँदा सीमा क्षेत्रमा सञ्चालित होटल व्यवसायी संकटमा परेका छौं,’ उनले भने । घरभाडा, कर्मचारीलाई तलब, विद्युत् महसुल समेत तिर्न नसक्ने अवस्था आएकाले बाध्य भएर सीमामा बस्नुपरेको लुम्बिनी होटल एशोसियनका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।
पर्यटन व्यवसायीले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र भारत लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान समेत शुरू भइसकेको जनाएका छन् । ‘निर्वाध रूपमा मालबाहक सवारीसाधन र चालकहरू आउँदा कोरोनाको जोखिम नहुने तर पर्यटक र पर्यटकीय सवारीसाधन आउदा जोखिम हुने यो कस्तो व्यवस्था हो ?’ उनले सोधे ।
दुवै देशका सरोकारवाला निकायले छलफल गरी यथाशीघ्र सवारीसाधन आवतजावतसहित सीमानाका सञ्चालन गर्नुपर्ने व्यवसायीको माग गरेका छ । विरोध कार्यक्रममा प्रदेश सांसद सन्तोष पाण्डेले समेत व्यवसायीलाई साथ दिएका थिए ।
नेपाल प्राकृतिक रूपमा नै पर्यटकका लागि निर्माण भएकाले केन्द्र सरकार र प्रदेश सरकारबाट पनि सीमा सञ्चालन गर्न दबाब दिने र सीमा खोल्न पहल गर्ने प्रतिबद्धता सांसद पाण्डेले जनाए ।
दुवै देशका सरोकारवाला निकायको वार्ता, समझदारी तथा समन्वयबाट सीमा सञ्चालन नभए कडा आन्दोलनका साथ व्यवसायीसँग दशगजामा आउने सांसद पाण्डेले चेतावनी दिए ।