प्रहरीले भागरथी भट्टको हत्या आरोपित सार्वजनिक गरे पनि विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन नआउन्जेल शव नबुझ्ने अडान पीडित परिवारले लिएको छ ।
यसअघि अभियुक्त पक्राउ नपरेसम्म शव नबुझ्ने उनीहरूको अडान थियो । प्रहरीले मंगलबार राति घटनामा संलग्न भएको भन्दै स्थानीय किशोरलाई पक्राउ गरेको थियो । हत्यारा अरू पनि हुन सक्ने शंका रहेको भन्दै परिवारजनले प्रयोगशालाको प्रतिवेदन कुर्ने निर्णय गरेको हो ।
थप अनुसन्धानका लागि मृतकको भजाइनल स्वाब, मुखको स्वाब, योनिबाट निस्केको रगतको नमुना परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको छ । मृतकका दाइ केशव भट्टले प्रारम्भिक अनुसन्धानलाई मात्र विश्वास गर्न सकिने अवस्था नरहेको बताए । ‘प्रहरीले बुधबार सार्वजनिक गरेको दिनेश भट्ट एक्लैले घटना गरेन कि भन्नेमा शंका छ,’ उनले भने ।













