
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।
अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो ।
एमिकस क्युरीका ५ सदस्यमध्ये ४ जनाले बहस गरिसकेका छन् ।
अहिले अन्तिम बहसकर्ताका रूपमा वरिष्ठ अधिवक्ता गीता पाठकले अदालतलाई राय दिइरहेकी छन् ।
पाठकले संविधान भन्दा माथि कोही पनि नरहेको बताइन् ।
संविधान कोमामा रहेको भन्ने प्रसंग यसअघि इजलासमा उठेको स्मरण गर्दै उनले संविधान कोमामा पुग्दा सबै कोमामा पुगेको धारणा राखिन् ।
प्रतिनिधि सभा विघटन गर्ने निर्णय सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका विषयमा पनि प्रश्न उठेको भन्दै उनले सबै संविधान अनुसार चल्नुपर्ने बताइन् ।
पाठकको बहस सकिएपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।
निर्णय सुनाउने प्रक्रियामा एक सातादेखि १० दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।