
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन न्यायका लागि शान्ति सम्झौताको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्चको फैसला, पीडितहरूको भावना र राजनीतिक यर्थाथतालाई ध्यानमा राखी समाधान खोज्नुपर्ने बताएका छन् ।
इन्सेकद्वारा आज आयोजित ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ को विमोचन समारोहमा पीडितको सहज जीवन यापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर समाधान खोज्न उनले आग्रह गरेका हुन् ।
सरकारले संसद् विघटन गर्नु ठीक नभए जस्तो देखिए पनि निर्वाचनको विकल्प नभएकाले राजनीतिक स्थिरता र मूल्य मान्यता स्थापित गरी राजनीतिक विकृतिको अन्त्य गर्न निर्वाचन मात्र समाधान भएको उनको भनाइ थियो ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नेपालका राजनीतिक दल, नागरिक समाज र सरकारबीचको सहकार्यले विश्वसामु नेपालप्रतिको विश्वास बढेको उल्लेख गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्ने विषयवस्तुलाई सरकार, न्यायिक क्षेत्र, प्रहरी र नेपाली सेनाको समेत धारणा समावेश गर्नुले सकारात्मक ऊर्जा थपेको बताए ।