नुवाकोट, ६ जेठ - स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

आजमात्रै बेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनाल निर्वाचित हुनुभएको छ ।
प्रमुखमा एमालेका उम्मेदवार राजेन्द्ररमण खनाल छ हजार ६४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगतबहादुर गुरुङले छ हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुङ्गाना छ हजार ६६६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रूपा सापकोटाले छ हजार ४६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो ।
बेलकोटगढी नगरपालिकामा १० वडामा एमाले, दुई वडामा माओवादी केन्द्र र एक वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । नुवाकोटको सात स्थानीय तहको प्रमुखमा नेपाली काँग्रेस, तीन स्थानीय तहको प्रमुखमा एमाले र दुई स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
बाह्रवटा स्थानीय तह रहेको नुवाकोटमा यसअघि विदुर नगरपालिका र तार्केश्वर गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।
यस्तै, मेघाङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
लिखु गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भए पनि बाँकी छ स्थानीय तहमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
वडा सदस्यको मृत्युलिखु गाउँपालिका–१ बाट स्थानीय तह निर्वाचनमा निर्वाचित वडा सदस्य ठाकुरप्रसाद लामिछानेको मृत्यु भएको छ ।
वैशाख ३१ मा भएको निर्वाचनमार्फत नेकपा (एमाले)बाट उम्मेदवार भएर वडा नं १ को वडा सदस्यमा निर्वाचित ४५ वर्षीय लामिछानेको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् ।
निर्वाचित पदाधिकारीहरुको विजय ¥याली भइरहेको समयमा अचानक ढल्न पुगेका लामिछानेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएको लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धु्रव श्रेष्ठले जानकारी दिनुभयो ।