शंकास्पद ५ लाख रुपैयाँसहित २ जना पक्राउ

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुवाछोरालाई सशस्त्र प्रहरीले बुधवार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । 

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोस्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।


Advertisement

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा भारतीय रुपैयाँ २ हजार दरको ६३ थान र ५०० दरको ३४८ थान गरी भारतीय ३ लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दुवैबाट नेपाली रकम २७ हजार रुपैयाँसमेत बरामद भएको छ । ‘भारतीय र नेपाली रकम गरी दुवैबाट ५ लाख ७ हजार रुपैयाँ रकम बरामद भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको २ थान चेन समेत बरामद गरिएको छ ।’

विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ । 

कमेन्ट गर्नुहोस्