अहिले मौसम परिवर्तन भएर जाडो क्रमशः घट्दैछ र गर्मी आउन लागेको छ । वैशाखमा पूरै गर्मी नहुन्जेल मौसममा परिवर्तन भइरहन्छ ।
बदलिँदो मौसममा सावधान हुनु आवश्यक छ । अलिकति पनि लापरावाही गर्दा बिरामी परिन्छ । के कुरामा ध्यान दिनुपर्छ भनी हामी सुझाव दिँदैछौं ।
कपडा
बिहान बेलुका चिसो नै छ अहिले । यस्तो अवस्थामा आधा बाहुले शर्ट वा टीशर्ट नलगाउनुस् । अहिले झ्याप्पै गर्मीका कपडा निकाल्ने बेला भएको छैन ।
खाना
जाडोमा तातोतातो खानपिउन लाग्छ अनि गर्मीमा चिसो कुरा खान मन लाग्छ । अहिले तत्कालै चिसो कुरा खान नथाल्नुस् । आइस हालेको चिसो पानी पिउँदा घाँटी दुख्न सक्छ । अनि तारेको खानेकुरा पनि अहिले नखानुस् ।
एसी
हिटर ताप्न त छोड्नुभयो होला । दिउँसो त गर्मी जस्तो नै छ अनि बिहान बेलुका चाहिँ चिसोचिसो छ । तर दिउँसो गर्मी भयो भनेर एसी नचलाउनुस् । एसीको चिसोले बिरामी बनाइदिन्छ । एसी खोल्नुभन्दा घरको झ्यालढोका खोलेर ताजा हावा ल्याउनुस् ।
घाम
दिउँसो घाममा धेरै बेर बस्दा बिरामी पर्न सक्नुहुन्छ । अहिले शरीर मौसम अनुकूल हुन पाएको छैन र घामले ज्वरो निकालिदिन सक्छ ।
यसबाहेक आइसक्रीम, कोल्ड ड्रिंक्स र दही खाइहाल्ने बेला भएको छैन । बिहान बेलुका न्यानो कपडा लगाउनुस् र एकदमै चिसो पानीले ननुहाउनुस् ।