०४ असार २०८३, बिहीबार

भागरथी भट्टका हत्यारा पत्ता लगाउने २ प्रहरी कर्मचारी बढुवा, ५ जनालाई नगद पुरस्कार

फागुन १३, २०७७
भागरथी भट्टका हत्यारा पत्ता लगाउने २ प्रहरी कर्मचारी बढुवा, ५ जनालाई नगद पुरस्कार

तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले १ तह पदोन्नति गरेको छ भने अन्य ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।

उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दिया दरबन्दीका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । 

उनीहरूलाई कार्य कुशलताको कदरस्वरूप प्रहरी नियमावली २०७१ (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को (क) बमोजिम १ तह माथिल्लो पदमा पदोन्नति गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूमध्ये प्रहरी नायव निरीक्षक पदमबहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यमिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको घटना, कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करहरूको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरेका थिए ।

प्रहरी हवल्दार नरबहादुर थापाले उल्लेखित ३ वटै घटना तथा बझाङको मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणीपछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रूपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यमिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणीपछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदारी एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । 

नगद पुरस्कारद्वारा पुरस्कृत हुने प्रहरी कर्मचारीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरबन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दीका प्रहरी नायव निरीक्षक दूर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर छन् । 

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को (क) बमोजिम अभिलेखमा जनिने गरी उनीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्