इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट म्याच भारतले दुई दिनमै जितेपछि इंग्ल्यान्डका कप्तान जो रूटले दर्शकहरूलाई धोका दिइएको बताए ।
म्याच सकिएपछि उनले भने, ‘यो म्याच हेर्न आउने दर्शकहरूलाई धोका दिइयो । उनीहरू आफू ठगिएको अनुभव गरिरहेको हुनुपर्छ ।’
इंग्ल्यान्डको टीम अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिलो इनिङमा ११२ र दोस्रो इनिङमा ८१ रन मात्र बनाउन सफल भयो । भारतले पहिलो इनिङमा १४५ रन बनाएको थियो र जीतका लागि ४९ रनको लक्ष्य ७.४ ओभरमा पूरा गरेको थियो ।
रूटले भने, ‘यो शानदार स्टेडियम छ र लगभग ६० हजार मानिस निकै स्मरणीय खेल हेर्न पाइएला भनी आएका थिए । उनीहरूमाथि धोका भएको जस्तो मलाई लाग्छ ।’
टेस्ट क्रिकेटका लागि अनुकूल पिच बनाउन इन्टरनेसनल क्रिकेट काउन्सिलले विचार गर्नुपर्ने रूटले बताए ।
उनले भने, ‘यो पिच निकै चुनौतीपूर्ण थियो । ब्याटिङ गर्न निकै गाह्रो थियो । पिच खेलका लागि उपयुक्त थियो कि थिएन भनी खेलाडीले निर्णय लिँदैनन् । यसलाई आईसीसीले विचार गर्नुपर्छ ।’
चार म्याचको सिरीजमा भारत २–१ का साथ अग्रता लिइरहेको छ । चौथो तथा अन्तिम म्याच मार्च ४ देखि अहमदाबादमा नै खेलिनेछ ।
पहिलो म्याच हारेपछि भारतले स्पिनरका लागि अनुकूल हुने पिच बनाएर इंग्ल्यान्डलाई अप्ठ्यारोमा पारेको भनी आलोचना भइरहेको छ ।