०७ असार २०८३, आइतबार

श्रीलंकाका जेलमा २६ नेपाली महिला

फागुन १६, २०७७
श्रीलंकाका जेलमा २६ नेपाली महिला

संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ । 


मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले कान्तिपुरसँग कुरा गर्दै जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको बताए । उनका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उल्लंघनलगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ । प्रवक्ता निरौलाले मन्त्रालयअन्तर्गतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्नेबित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए । उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरू कसरी त्यहाँ पुगे, कसले पुर्‍यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ ।


स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रूपमा खाडीका देश पुर्‍याएर आकर्षक जागिर मिलाइदिने आश्वासनमा श्रीलंका पुर्‍याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ होइन । २०७५ फागुनमा पनि भारतीय प्रहरीले उत्तरपूर्वी राज्य मणिपुरबाट १ सय ४७ महिलासहित १ सय ७९ जनालाई उद्धार गरेको थियो । त्यसअघि मिजोरमबाट २३ महिलालाई उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई आकर्षक रोजगारीको प्रलोभनमा अवैध रूपमा भारत, म्यान्मार, श्रीलंका हुँदै खाडी देश पुर्‍याउन खोजिएको थियो ।

मानव तस्करीको पछिल्ला वर्षको प्रवृत्ति हेर्दा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा सोझै श्रीलंकाको कोलम्बो हुँदै खाडी देशमा पुर्‍याउने गरिए पनि विमानस्थलमा कडाइ गरेपछि भारतका उत्तरपूर्वी मणिपुर र मिजोरमलगायत ठाउँबाट म्यान्मार र श्रीलंका पुर्‍याउन सुरु गरिएको थियो । कान्तिपुर दैनिकमा जनकराज सापकोटाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्