
प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् ।
उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्ताले स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नेछन्। यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए।
त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटी शिलान्यास गर्ने थापाले बताए । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम छ ।