०८ साउन २०८३, शुक्रबार

क्यान्सर उपचारका लागि विदेश जानु नपर्ने, पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचार

फागुन १७, २०७७
क्यान्सर उपचारका लागि विदेश जानु नपर्ने, पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचार

अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ ।

स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको बिर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्ण रूपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।  

यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा ६०० करोड रुपैयाँको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो ।

निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन । पूर्वाञ्चल क्यान्सर अस्पतालमा गुणस्तरीय सेवा र सुलभरूपमा उपलब्ध गराइरहेका छौं ।’

३०० शय्याको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको उनले जानकारी दिए । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले १ वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपीडी सेवा प्रदान गरेको छ ।

अस्पतालमा पेट स्क्यान, एमआरआइ, सिटी स्क्यान लगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने जनाइएको छ । 

‘यो क्यान्सर उपचारका लागि सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो । अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो,’ अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्