
साउदी अरबका युवराज मोहम्मद बिन सलमानलाई सीधै प्रतिबन्ध नलगाउने आफ्नो निर्णयलाई ह्वाइट हाउसले प्रतिरक्षा गरेको छ ।
पत्रकार जमाल खाशोग्जीको हत्यामा युवराज पनि संलग्न रहेको प्रतिवेदन हालै सार्वजनिक गरिएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता जेन पिसाकीले युवराजमाथिको प्रतिबन्ध नलगाउने निर्णयको बचाउ गरिन् ।
उनले भनिन्, ‘यो पुनः दोहोरिने छैन भन्ने कुरालाई सुनिश्चित गर्न थप प्रभावकारी उपायहरू छन् भन्ने हाम्रो विश्वास छ । अनि पारस्परिक सहमति भएका क्षेत्रमा साउदीहरूसँग मिलेर अमेरिकाको राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि ठाउँ पनि छोड्नुपर्नेछ । यो नै कूटनीति हो,’ पिसाकीले सीएनएनलाई बताइन् ।
मानवअधिकारवादी समूह र केही वरिष्ठ डेमोक्रेटहरूले युवराजलाई दोषी ठहर नगरिएको विषयमा चिन्ता व्यक्त गरेका छन् । अनि अमेरिकाले प्रकाशित गरेको गुप्तचरी प्रतिवेदनमा खाशोग्जीको हत्या गर्ने आदेश युवराजले दिएको उल्लेख छ तर उनलाई जवाफदेही बनाइएको छैन ।
सोमवार साउदी अरबका विषयमा अमेरिकी नीति सार्वजनिक गरिनेछ तर राष्ट्रपति जो बाइडनले के घोषणा गरिने हो भनी स्पष्ट पारेका छैनन् । यो नीति उल्लेख्य हुने र नियमहरू परिवर्तन भइरहेको उनले बताए ।
‘हामी उनीहरूलाई मानवअधिकार उल्लंघनका विषयमा जवाफदेही बनाउनेछौं,’ बाइडनले युनिभिजनलाई बताए । आफूले राजा सलमानलाई शुक्रवार फोन गरेर नयाँ नीतिको घोषणा गर्न लागिएको बताएको जानकारी बाइडनले दिए ।