०३ साउन २०८३, आइतबार

प्रतिनिधि सभा पुन:स्थापनाको लडाईंमा मिडियाको भूमिका समुद्र मन्थनसरह : सभामुख सापकोटा

फागुन १७, २०७७
प्रतिनिधि सभा पुन:स्थापनाको लडाईंमा मिडियाको भूमिका समुद्र मन्थनसरह : सभामुख सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुन:स्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भएको बताएका छन् ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को तेस्रो स्थापना दिवसका अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवं सम्मान समारोहमा सभामुख सापकोटाले त्यस्तो बताएका हुन्।

'पुस ५ देखि फागुन ११ गतेसम्म ६६ दिन भएको एउटा महान् बहसमा नेपाली पत्रकारिता जगत अग्रमोर्चामा खडा भयो,' सापकोटाले भने, 'मैले त्यो बहसलाई समुद्र मन्थनको रूपमा नै लिएको छु ।'

लोकतन्त्रका सबै आयामलाई समेटेको नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको दाबी गर्दै उनले थपे, 'हाम्रो परम्परागत संसदीय व्यवस्था पनि होइन, मौलिक नेपालीपन झल्किएको संविधान हो।'

संविधानलाई परिमार्जन, संशोधन र विकास गर्न सकिने तर त्यसको लागि संविधानको कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुखको शपथ ग्रहण गरेदेखि नै संघीय संसदलाई जीवन्त तथा जनमुखी बनाउन सूत्र वाक्य नै बनाएर लागिपरेको उनले बताए।

नेपालको पत्रकारिता जगत गर्व गर्न लायकको रहेको तथा आगामी दिनमा समेत नेपाली पत्रकारिताको भविष्य उज्ज्वल रहनुका साथै चुनौतीभन्दा पनि अवसर नै बढिरहेको उनले बताए ।

कार्यक्रममा सभामुख सापकोटाले लोकान्तर डट्कमका समाचार सम्पादक सुशील पन्तलाई ५ सय अमेरिकी डलरको इञ्जा खोजी पत्रकारिता पुरस्कार प्रदान गरे ।

यस्तै नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्कीलाई पनि सोही राशिको पुरस्कार प्रदान गरियो ।

साहित्यकार राजेन्द्र पराजुलीलाई उत्कृष्ट साहित्यिक पुरस्कार, इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार, बझाङका पत्रकार वसन्तप्रकाश सिंह, रुपन्देहीकी पत्रकार नीरा गौतम र दोलखाकी पत्रकार मन्दिरा थापालाई प्रदान गरियो ।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता अध्यापन गराउँदै आएका लाल देउसा राईलाई इञ्जा दीर्घ सेवा पुरस्कार प्रदान गरियो ।

लामो समय पत्रकारिता गरेका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र प्रेस युनियनकी उपाध्यक्ष बाला अधिकारीलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा इञ्जा एसिया च्याप्टरका अध्यक्ष टंक पन्तले विभिन्न क्षेत्रमा दिइएका पुरस्कारले पत्रकारहरूको प्रोत्साहन हुने विश्वास व्यक्त गरे । 

लोकान्तरमा प्रकाशित समाचारका कारण सांसदहरुले दशैं भत्ता फिर्ता गरेको समाचारबारे अध्यक्ष पन्तले कार्यक्रममा चर्चा गरेका थिए । 

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित लगायतले इञ्जा पुरस्कारले पत्रकारहरूलाई प्रोत्साहन गरेको बताए ।

कोरोनाको समयमा सांसद र उनका पीएले दशैं भत्ता लिएको समाचारका लागि इञ्जाले खोजी पत्रकारिता पुरस्कार लोकान्तरकर्मी पन्तलाई प्रदान गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्