
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यस्त समय तालिकाका बीच आज पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनका लागि पोखरा आएका उनी सभागृहमा पार्टीको भेलालगत्तै दिउँसो फुटबल रङ्गशालाको अवलोकनमा पुगेका थिए । मुलुकको प्रमुख कार्यकारी रङ्गशाला आउने खबर पाएपछि उत्साहित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षक उनको स्वागतमा प्रवेशद्वारमा राष्ट्रिय झन्डा फहराउँदै उपस्थित भइसकेका थिए । प्रधानमन्त्री ओली रङ्गशालामा आएपछि आफ्नो खेल पोशाकमा उपस्थित खेलाडी तथा प्रशिक्षकले हातमा लिएको राष्ट्रिय झन्डा फहराए र प्रधानमन्त्रीको भव्य स्वागत गरेका थिए । उनको स्वागतमा रङ्गशालामा बाजागाजाको व्यवस्था मिलाइएको थियो ।
प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तराष्ट्रियस्तरको फुटबल रङ्गशालामा बसेर रङ्गशालाभित्र निर्माण सम्पन्न भएका खेल पूर्वाधार तथा निर्माणाधीन पूर्वाधारका बारेमा जानकारी लिएका थिए । सुन्दर अन्नपूर्ण हिमश्रृङ्खलाको पृष्ठभूमिमा बन्दै गरेको रङ्गशालालाई एशियाली फुटबल महासङ्घ(एएफसी)ले एशियाको उत्कृष्ट रङ्गशाला भनेर आफ्नो वेवसाइटमा राखेको छ । प्रधानमन्त्री ओलीलाई आयोजकले सोही रङ्गशालाको सुन्दर तस्बीर ‘मायोको चिनो’ स्वरुप उपलब्ध गराएका थिए ।
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरा रङ्गशालाको गुरुयोजना (मास्टर प्लान) तथा खेल पूर्वाधारका बारेमा जानकारी गराइरहँदा प्रधानमन्त्रीले त्यसलाई रुचिपूर्वक सुन्नुभएको थियो । रङ्गशालाभित्रका भलिबल कोर्ट, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्डहल, क्रिकेट मैदान, आर्चरी मैदान, टेनिस कोर्ट, ह्याडबल, स्क्वासलगायत खेल पूर्वाधार तथा समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई सदस्यसचिव सिलवालले जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले रङ्गशालामा उपस्थित खेलाडी, खेल पदाधिकारी तथा प्रशिक्षकलाई सम्बोधन गर्दै गत वर्ष १३ औँ दक्षिण एशियाली खेलकूद(साग)का केही खेल पोखरामा सफल सञ्चालनबाट ठूलो उपलब्धी हासिल भएको बताए ।
प्रधानमन्त्रीले पोखरा रङ्गशालालाई अस्थायी रुपमा मात्र नभई सम्पूर्ण हिसाबले तयारी अवस्थामा राख्नुपर्ने बताउँदै आवश्यक खेल पूर्वाधार निर्माणमा सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने प्रतिवद्धता समेत व्यक्त गरे।
पूर्वाधार, राम्रा प्रशिक्षक, आवश्यक खेल सामग्री, खेलाडीलाई प्रोत्साहन र सुविधाका लागि सरकारले प्रारम्भ गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदका ५१ स्वर्ण विजेता खेलाडीलाई सहित २०७ पदक विजेता खेलाडीलाई सम्मान गरेको बताए ।